नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा भोलि बस्दै
काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा भोलि (जेठ ७ गते) बस्दै छ । नेपाल बंगलादेश बैंक र नबिल बैंक एक आपसमा गाभ्ने विशेष प्रस्ताव दुबै बैंकहरुले विशेष साधारण सभा बोलाएको हो ।
नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी विषेश साधारण सभा बोलाएको छ । सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता(१ः०.४३)हुने गरी प्राप्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी नेपाल बङ्गलादेश बैंकले शनिवार बिहान ११ बजे भर्चुअल माध्यमबाट विशेष साधारण सभा बोलाएको छ । विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यी कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि वैशाख ३० गते बुक क्लोज गरेको हुदाँ बैशाख २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँ पुग्नेछ ।













