एक कम्पनीको २० प्रतिशत बोनस शेयर पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले सभा प्रयोजन र लाभांश प्रयोजनका लागि जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएकाले जेठ १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि लघुवित्तले तेस्रौ वार्षिक साधारण सभा जेठ २८ गते धनगढी उपमहानगरपालिका कैलालीमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको छ ।
त्यस्तै, उक्त सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
यस अघि कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको भए पनि राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो ।
साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।