ब्रोकरले कारोबार व्यवस्थापन प्रणाली आफैँ बनाउनुपर्ने

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बुधबारदेखि लागू हुने भएको छ । अनलाइन शेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ब्रोकरले आफैं बनाउनुपर्ने टिएमएस लागू हुने भएको हो । सञ्चालक समिति बैठकले सोमबार टीएमएससम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
टीएमएससम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनका लागि नेप्से सञ्चालक समितिले स्वीकृत गरेसँगै उक्त व्यवस्था लागु हुनेछ । टीएमएससम्बन्धी विनियमावलीमा भएको व्यवस्थामा केही कानुनी भाषा मिलाएर लागू गर्ने निर्णय भएको नेप्से स्रोतले जनाएको छ । मंगलबारसम्म सबै कुराहरु मिलाएर असार १० देखि लागू गर्ने तयारी नेप्सेले गरेको छ ।
गत वैशाखमा धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५’ को संशोधित व्यवस्था पारित गरेर आवश्यक कार्यविधि निर्माण गरेर लागु गर्न नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नेप्सेले कार्यविधि निर्माण गरेको थियो । त्यही कार्यविधि सोमबार बिहान नेप्से सञ्चालक समितिको बैठकबाट पारित भएको हो । कार्यविधि पारित भएसँगै असारदेखि टीएमएससम्बन्धी नयाँ व्यवस्था लागू हुने भएको हो ।
नयाँ व्यवस्था अनुसार अब ब्रोकर कम्पनीले आफैं कारोबार प्रणाली निर्माण तथा व्यवस्थापन गर्नुपर्ने भएको छ । ५० वटै ब्रोकरको कारोबार प्रणाली व्यवस्थापन हुँदै आएको छ । टीएमएससम्बन्धी नीतिगत व्यवस्था लागू भएपछि एउटा व्यक्ति (कर्मचारी) ले एकभन्दा बढी ब्रोकरको कारोबार प्रणालीमा हेर्न पाउने छैनन् ।
हाल ब्रोकरहरूलाई नेप्सेले निःशुल्क रूपमा कारोबार प्रणाली प्रदान गरिरहेको छ । टीएमएससम्बन्धी नीतिगत व्यवस्था लागू भएपछि ब्रोकरले शुल्क तिर्नुपर्नेछ ।