२३ भदौ २०८३, मंगलबार

लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पाइने



काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक एप खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरेको छ।योसँगै अब ग्राहकले मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न पाउने कम्पनीले जनाएको छ।

साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड लक्ष्मीईएमआई प्रयोग गरी ५ प्रतिशत क्यासब्याक (५० रुपैयाँसम्म) पनि प्राप्त गर्नेछन्। यो अफर भदौ ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ।

खल्ती तथा लक्ष्मी लघुवित्तका ग्राहकहरूलाई किस्ता भुक्तानी गर्न यो सहकार्यले सहज हुनेछ। साथै भुक्तानी गर्न कार्यालयसम्म जानको लागि समय निकाल्ने वा भुक्तानी गर्नै ढिलो हुनेजस्ता समस्याहरुबाट छुटकारा दिने अपेक्षा लिइएको कम्पनीले जनाएको छ।

लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी ’खल्ती’बाट गर्न खल्ती होम स्क्रिनमा ईएमआई सेक्सनमा जानुपर्नेछ। त्यसपछि लक्ष्मी लघुवित्तलाई छनौट गरी आवश्यक विवरण भर्नुपर्नेछ। त्यसपछि ‘प्रोसिड टु पे’मा ट्याप गरेर भुक्तानी पूरा गर्न सकिने कम्पनीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती र लक्ष्मी लघुवित्तका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभ लिनसक्ने कुरामा विश्वस्त रहेको जानकारी दिए।पाँच हजारमाथिको नवीकरण ईएमआई भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्ने कम्पनीको भनाइ छ।बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूले केही ट्यापहरूमार्फत आफ्नो ईएमआई र पानी, इन्टरनेट, बिजुली, र सरकारी राजस्व जस्ता अन्य बिलहरू भुक्तानी गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्।