१६ श्रावण २०८३, शनिबार

भन्सार छलेका सामग्रीबाट ५ करोड राजश्व असुल



काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमार्फत जिल्ला प्रहरी कार्यालयले गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजश्व असुल गरेको छ ।

भन्सार छलेर ल्याइएका उक्त सामग्री बरामदबाट ५ करोड ३६ लाख राजस्व असुल गरिएको छ । गत आर्थिक वर्ष भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलान मार्फत् उक्त राजश्व संकलन भएको नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिएका हुन् ।

भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरिएको छ । बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउने गरेको पाइएको प्रहरी उपरीक्षक महर्जनले जानकारी दिएका छन् । नवलपुरमा एकमात्रै त्रिवेणी नाका छ । अन्य जिल्लाका नाकाबाट भित्रिएका सामग्रीसमेत बरामद गरिएको हो ।
गस्तीका क्रममा प्रहरीले भन्सार नतिरी नेपाल भित्र्याइएका ५९५ थान मोबाइल, कपडा, पाटपुर्जा, किरानाका सामान, युरिया मल, चिनी, भाँडावर्तन लगायतका सामग्री बरामद गरेकोमा उक्त सामग्रीको भन्सार चलान गरी राजश्व असुल गरेको हो ।

साथै, प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ४४४ साधनका चालकलाई समेत कारबाही गरेको छ । महर्जनका अनुसार जरिवानावापत ७९ लाख राजश्व असुल गरिएको हो ।