सुर्खेतमा अवैध मुद्रा कारोबार गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौं । सुर्खेतबाट अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्नताको आरोपमा ५ जना पक्राउ परेका छन् । सुर्खेतको भेरीगंगा–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेतको सिम्ता–३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई–४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड–५ का २४ वर्षीय निमबहादुर विक, ३३ वर्षीय रत्नबहादुर नेपाली र जाजरकोटकै कुशे–५ का ३२ वर्षीय शान्तबहादुर बादी छन् ।
सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको साथबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरेको छ ।
बुट्टा बनाउन प्रयोग गरिने अन्य २ थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका पत्थर, बारुदजस्तो देखिने सानो डिब्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् । पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।













