१७ श्रावण २०८३, आइतबार

प्याराग्लाइडिङमा उड्दै पर्यटन मन्त्री शर्माले गरे टुरिजमपानाको विमोचन



काठमाडौं । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् । आज पोखरामा टुरिजमपाना मासिक पत्रिकाको विमोचन गर्दै मन्त्री कँणेलले यस्तो बताएका हुन् ।

पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उनले विषय विज्ञहरूसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने बताए । पर्यटकीय नगरि पोखरामा साहसिक खेल पर्यटनमा धेरै पर्यटकको आकर्षण रहेको भन्दै उहाँले पोखरामा पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताए साथै उनले पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको पनि बताएका छन् ।

मन्त्री शर्माले प्याराग्लाइडिङमा उड्दै आज टुरिजम पाना मासिक पत्रिकाको विमोचन गर्नुभएको हो । उनले टुरिजम पाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमीका खेल्ने विश्वास व्यक्त गरे । फरक तरिकाले पत्रिकाको विमोचन गर्न पाउँदा आफूलाई ज्यादै खुशी लागेको मन्त्री शर्माले बताए ।

नेपालको पहिलो महिला प्यारा पाइलट तृशा श्रेष्ठले उक्त प्याराग्लाइडिङ उडाएकी थिइन् । श्रेष्ठ नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी सनराइज प्याराग्लाइडिङसँग आबद्ध छन् । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यले टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको प्रकाशक विष्णुकान्त घिमिरेले बताए ।

टुरिजमपाना मासिक पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताइन् । कोभिडको १९ को महामारीले ठप्पजस्तै बनेको पर्यटन क्षेत्रलाई विस्तारै पहिलेकै अवस्थामा फर्काउन सबैको पहल आवश्यक रहेको र यसमा सञ्चार क्षेत्रबाट टुरिजमपानाले भूमिका खेल्ने चिमोरियाको भनाइ छ । पत्रिकाले पहिलो अंकमा संस्कृति, धार्मिक पर्यटन, साहसिक खेल, पर्वतारोहण, गन्तव्य, यात्रा डायरी, विचार, व्यक्तित्व, पूर्वाधार, घुमफिर, प्रदेश र स्थानीय सरकारले गरेका काम लगायतका विषयवस्तु समेटेको छ ।