२० श्रावण २०८३, बुधबार

नयाँ ब्रोकर लाइसेन्समा देखिएन आकर्षण: हालसम्म एक कम्पनीको मात्रै निवेदन, अब कति दिन बाँकी ?



काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम मिति नजिकिएको छ । तर, नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदनमा आकर्षण भने देखिएको छैन ।

आवेदन दिन अब पाँच दिन मात्र बाँकी रहेको छ । हालसम्म नयाँ ब्रोकरका लागि एउटा मात्र आवेदन परेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार हालसम्म नयाँ ब्रोकर संचालनका लागि समिति कार्य गर्नेगरि हिमालयन सेक्यूरिटीज लिमिटेडले मात्र आवेदन दिएको हो ।

ब्रोकर लाइसेन्सका लागि चुक्तापुँजी तीन तहमा विभाजन गरिएको छ । सिमित कार्य गर्नका लागि न्यूनतम चुक्तापुँजी २० करोड आवश्यक पर्नेछ । यस्तै, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लािग १ अर्ब ५० करोड चुक्तापुँजी आवश्यक पर्ने बोर्डले जनाएको छ ।

बोर्डले गत असोज २ गते ३० दिनको समय तोक्दै बोर्डले ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । अब लाइसेन्सका लागि असोज ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

निवेदकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्नगरी बोर्ड समक्ष निवेदन पेस गर्नुपर्नेछ । बोर्डले तोकिएको मापदण्ड अनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिने जनाएको छ ।

बोर्डले धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको हो ।