वायु प्रदूषणले मान्छेको औसत आयु ३ वर्ष घट्यो, नेपाल पनि उच्च जोखिममा
काठमाडौं । पछिल्लो एउटा प्रतिवेदनले वायु प्रदूषणका कारण विश्वमा मानिसहरुको औसत आयु २ वर्ष ११ महिना घटेको जनाएको छ । विभिन्न अनुसन्धानको आधारमा ‘कार्डियोभास्कुलर रिसर्च’ले प्रकाशित गरेको जर्नल अनुसार वायुप्रदुषणले मानिसको औषत आयु २ दशमलव ९ वर्ष घटाएको छ । घर बाहिरको धूवाँका कारण अफ्रिकी मुलुकहरु बढी प्रभावित भइरहेको भनिए पनि यसको जोखिम नेपालमा पनि त्यत्तिकै बढी छ ।
हिउँदयाम सुरु भएसँगै काठमाडौं लगायत तराइका केहि सहरमा प्रदूषण ह्वातै बढ्ने गरेको छ । गत वर्ष प्रदूषणको मात्रा सामान्य अवस्थाभन्दा १० गुणासम्म बढ्दा काठमाडौं विश्वकै सर्वाधिक प्रदुषित शहर बनेको थियो । त्यसो त, नेपालले धान, चामल र तरकारीदेखि पेट्रोलसम्म भारतबाट आयात गरेजस्तै प्रदूषण पनि उतैबाट आउँछ ।
भारतका उत्तरी प्रदेशहरुमा घना आवादी छ । विहार र उत्तर प्रदेशको गंगा–मैदानमा भएको प्रदूषण नेपालको तराई हुँदै पहाडी भेगमा आउँछ । काठमाडौं ठूलो उपत्यका भएकाले यहाँ प्रदूषण लामो समय रोकिन सक्छ । त्यसै कारण बागमतीको खोँचकै बाटो भएर तराइबाट काठमाडौं भित्रिने प्रदूषणले यहाँको हावालाई लामो समय दूषित बनाइराख्ने गरेको छ ।
नेपालमै पनि हिउँदमा डढेलोदेखि जाडोमा आगो ताप्ने, फोहोर बाल्ने जस्ता कारणले पनि चिसो मौसममा प्रदुषण बढ्ने गरेकोे छ । वायुको गुणस्तर मापन गर्ने स्विस कम्पनी आक्यु–एयरका अनुसार विश्वको १० प्रदुषित सहरहरु मध्ये काठमाडौं छैठौं स्थानमा पर्छ ।
नेपाल सरकारले वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ जारी गरेर हाम्रो वायुमण्डलमा भएको हावा कति दूषित छ भनेर छुट्याउने आधार बनाएको छ । उक्त मापदण्डले वायुको गुणस्तर नाप्ने सुचकांक पिपिएम–२.५ को मात्रा २४ घन्टामा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुन नहुने भनेको छ ।
तर, हिउँदमा काठमाडौं र तराईका सहरमा यो मात्रा ३०० देखि ४०० सम्म पुग्ने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पिपिएम २.५ को मात्रा ३०० भन्दा माथि गएमा मानव स्वास्थ्यको लागि अति घातक हुने भनेको छ । तर, यसअघि नै काठमाडौंमा यो मात्रा ४ सय ८७ सम्म पुगेको रेकर्ड छ । ज्यादै जोखिमयुक्त अवस्था हो ।
अवको केहि दिनभित्र वर्षा नभए फेरि पनि उपत्यकामा प्रदुषणले भयावह रुप लिनसक्ने भनेर विज्ञहरुले चेतावनी दिइसकेका छन् । तर नेपालमै भने वायु प्रदूषणले पार्ने प्रभाव बारे धेरै अध्ययन भएको छैन ।













