समान हैसियतमा गाभिदै युनियन, गुराँस र प्राइम लाइफ: नयाँ कम्पनीको अध्यक्ष र सीईओ को ?
काठमाडौं । युनियन लाइफ, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । यी तीनै वटा कम्पनी मर्जरमा जान अन्तिम सहमति भएको छ ।
सहमति अनुसार यी तीनै वटा कम्पनी समान हैसियत अर्थात १ः१ः१ को अनुपातमा मर्जरमा जाने भएका हुन् । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । जेठ ३ गते नेपाल बीमा प्राधिकरणबाट मर्जर स्वीकृति पाएका लिएका हुन् ।
आइतबार तीनै कम्पनीका अध्यक्ष क्रमशः यूनियन लाइफकोतर्फबाट अध्यक्ष शुलभ अग्रवाल, गुराँस लाइफकोतर्फबाट अध्यक्ष विवेक दुगड र प्राइम लाइफकोतर्फबाट अध्यक्ष पियुषराज अर्यालले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
मर्जपछि बन्ने कम्पनीको नाम भने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी राख्ने सहमति भएको छ । नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण बन्नेछन् भने गुराँस लाइफ र प्राइम लाइफका सीईओहरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् । कम्पनीको अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् ।
तीन कम्पनी एक भएपछि चुक्ता पुँजी साढे ७ अर्ब बढी हुनेछ । हाल युनियन लाइफको चुक्ता पुँजी २ अर्ब १५ करोड, गुराँस लाइफको २ अर्ब २३ करोड र प्राइम लाइफ इन्स्योरेन्सको २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
यी तीनै वटा कम्पनीले आ–आफ्नै विशेषता भएका कम्पनी हुन् । गुराँस लाइफ पुरानो कम्पनी मानिन्छ । प्राइम लाइफको पोर्टफोलियो ठुलो छ भने युनियन लाइफ इन्स्योरेन्सको व्यवस्थापन समूह बलियो छ । तीनवटै कम्पनी आ–आफनै अडानका कारण मर्जर प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन् । पछिल्लो समय बीमा समितिले चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु मर्जरमा जान लागेका हुन् ।
जीवन बीमा व्यवासयमा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी एक नम्बरको ताज सम्हालिरहेका छ । हाल नेपाल लाइफ अधिकांश सूचकमा सबै बीमा कम्पनीभन्दा अगाडि रहेको छ । तर गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएपछि जीवन बीमा बजारमा नेपाल लाइफसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्स मर्जरपश्चात् केही सूचकमा नेपाल लाइफभन्दा अब्बल बन्ने छ भने केही सूचमा नेपाल लाइफ नै अगाडि देखिन्छ ।













