१० श्रावण २०८३, आइतबार

हिमालयन एभरेष्टले कमायो ११ करोड २५ लाख नाफा : खुद बीमा शुल्क ३०.५४%ले वृद्धि, अन्य सूचक कस्ता ?

हिमालयन एभरेष्टले कमायो ११ करोड २५ लाख नाफा : खुद बीमा शुल्क ३०.५४%ले वृद्धि, अन्य सूचक कस्ता ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ११ करोड रुपैयाँ बढी खुद नाफा गरेको छ । कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

सो अवधिमा कम्पनीले ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने झिनो सुधार (०.३२ प्रतिशतले वृद्धि) भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ३०.५४ प्रतिशतले वृद्धि भई ५९ करोड १९ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ४५ करोड ३४ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट १७ करोड ४५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन भने १ अर्ब ५० करोड ८१ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । विवरण अनुसार जारी बीमालेखको संख्या १ लाख २६८ रहेको छ । सो अवधिमा नविकरण गरिएको बीमालेखको संख्या १४ हजार ४९९ वटा रहेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको कुल दावी भुक्तानी रकम ४६ करोड ७६ लाख २६ हजार रुपैयाँ रहेको छ। सो अवधिमा कम्पनीले ३ हजार ८८९ वटा दावी भुक्तानी गरेको हो ।

यस्तै, सो अवधिमा भुक्तानी हुन् बाँकी दावी कुल रकम (कोभिड समेत) २ अर्ब १७ करोड ६४ लाख ७९ हजार रुपैयाँ देखिएको छ । यो संख्यामा भने १३ हजार १२६ वटा रहेको छ । जसमध्ये ५ हजार ८३८ दावी संख्या कोभिडको पनि समावेश गरिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ६६ करोड २० लाख ३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको बीमा कोषको आकार पनि ४.६३ प्रतिशतले बढेर १ अर्ब १५ करोड ७ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको महा विपत्ति कोषमा भने ५ करोड १० लाख ७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २१ पैसा रहेको छ ।