साढे १९ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, डेढ वर्षको आयात धान्न पुग्ने

काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको साउनदेखि जेठसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो गत असार मसान्तको तुलनामा २७.८ प्रतिशत बढी हो । गत असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । तर, गत जेठ मसान्त आइपुग्दा भने २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । तर, चालु आवको जेठ मसान्तसम्ममा भने ३०.२ प्रतिशतले वृद्धि भएको छ ।योसँगै समिक्षा अवधिमा राष्ट्र बैंकमा १७ खर्ब ५२ अर्ब ७७ करोड सञ्चिति छ ।
समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । गत असार मसान्तमा भने १ खर्ब ९३ अर्ब ५९ करोड रहेको थियो ।
जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।