गत आवमा नेपालको आर्थिक वृद्धि ३.५४ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदन « Arthapath.com
२ मंसिर २०८१, आईतवार

गत आवमा नेपालको आर्थिक वृद्धि ३.५४ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदन



काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभुत मूल्यमा ३.५४ प्रतिशत बढेको प्रारम्भिक अनुमान छ ।

आइतबार नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिशतवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गर्भनर बम बहादुर मिश्र लगायतको समूहले अर्थमन्त्री विष्णु पौडेललाई सो प्रतिवेदन बुझाएको हो ।

गत आवमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले गत आव २०८०–८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

गत आवमा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

गत आवमा वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४४० अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।


प्रतिक्रिया दिनुहोस्