चालु खाता र शोधनान्तर स्थिति बचतमा, ६ महिनामा कति भित्रियो वैदेशिक लगानी ?

काठमाडौं । ६ महिनाको अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको रिपोर्टमा उल्लेख छ ।
यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह रु.४ अर्ब ५४ करोड रहेको थियो ।
यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।