शंकर, गोल्छा र अम्बे ग्रुपको संयुक्त लगानी रहेको सौर्य सिमेन्ट उद्योगले थाल्यो भारतमा क्लिङ्कर निर्यात

काठमाडौं । व्यवसायिक घराना शंकर, गोल्छा र अम्बे ग्रुपको संयुक्त लगानीमा रहेको सौर्य सिमेन्ट उद्योगले पनि क्लिङ्कर निर्यात सुरु गरेको छ । उद्योगले आफ्नो क्लिङ्कर उत्पादन भारत तर्फ निर्यात सुरु गरेको हो ।
व्यवसायिक उत्पादन सुरु गरेको करिब तीन वर्षमा उद्योगले क्लिङ्कर निर्यात थालनी गरेको हो । एक कार्यक्रम आयोजना गरि उद्योगले औपचारिक रुपमा गत शनिबारदेखि क्लिङ्कर भारत निर्यात सुरु गरेको छ ।
कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरिएको थिए ।
उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा न्युन म्याग्नेसियम अक्साइड तथा उच्चस्तरीय चुनढुंगा सम्मिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको कम्पनीले उल्लेख गरेको छ ।
उद्योगले २०७८ माघबाट आफ्नो व्यावसायिक उत्पादन सुरुवात गरको थियो । हाल उद्योगको क्षमता तीन हजार मेट्रिकटन क्षमता रहेको छ । सिराहाको मिर्चैयामा रहेको उद्योगले ओपिसी ५३ ग्रेड र ४३ ग्रेडका साथै पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।