बुढिगण्डकी हाइड्रोपावर निर्माणका लागि जुट्यो ६७ करोड लगानी, छिट्टै आईपीओ निष्काशन गर्ने « Arthapath.com
२५ माघ २०८१, शुक्रबार

बुढिगण्डकी हाइड्रोपावर निर्माणका लागि जुट्यो ६७ करोड लगानी, छिट्टै आईपीओ निष्काशन गर्ने



काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजना निर्माणका लागे लगानी जुटेको छ । उक्त आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको हो ।

जसका लागि बैंक र आयोजनाबीच ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार  बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।

प्रबर्दक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने  वाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ । 

कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ साथै कम्पनिको प्राथमिक सेयर निष्काशन (आईपीओ) ६ महिनाभित्रमा जारी हुने प्रक्रियामा समेत रहेको छ ।  

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।  आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पव्लिक लिमिटेड गरी  प्राथमिक सेयर (आईपीओ) मा गई छिट्टै सर्वसाधारणको लागि सेयर जारी गर्ने तयारी समेत गरेको जनाइएको छ । 

आयोजनालाई सफलतापुर्वक सम्पन्न गर्न र यसै वर्ष शुरू गर्ने गरी  थप २४ मेगावाट क्षमताको साङ्ग्रीला हाईड्रोपावर बनाउने कम्पनीले जनाएको  हाइड्रोपावारका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

बिकास हाईड्रोको सफलतापछि बुढिगण्डकी हाईड्रोपावर र साङ्ग्रीला हाईड्रोपावर शुरु गरेको यो टिमले समयमानै हाईड्रो सम्पन्न गर्ने बताएको छ ।  


प्रतिक्रिया दिनुहोस्