१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो १ खर्ब ८७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनासम्म रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार भदौमा रेमिट्यान्स बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।