‘बजेटले अर्थतन्त्रको गतिशीलता बढाउने मौका, तर कार्यान्वयनमा ध्यान पुर्याउन आवश्यक’

काठमाडौं । पूर्व मुख्य सचिव डा. बैकुन्ड अर्यालले आगामी आर्थिक वर्षको बजेटबाट अर्थतन्त्रको गतिशीलतामा सहयोग पुग्ने बताए ।
इकोनोमिक्स मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा यस्तो बताएका हुन् ।
बजेटमा उल्लेख गरिएका विषयहरु धेरै सकरात्मक रहेको उनले बताए । तर, छिट्टै कार्यान्वयनमा जानुपर्न उनको भनाई छ ।
उनले भने,‘बजेटको अङ्क महत्त्वपूर्ण हुँदाहुँदै पनि यसले लिएका नीतिहरूले अर्थतन्त्रको गतिशीलतामा बढी प्रभाव पार्दछन्, लगानीका लागि लिइएका नीतिहरू सकारात्मक छन् ।’
सरकारी आयोजना व्यवस्थापन चुस्त बनाउने नीतिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।
उनले भने,‘निर्यात प्रवद्र्धनका लागि कमै नीति भए तापनि लिइएका नीतिहरूले सहयोग नै पुग्छन्, निर्यात बढाउन उत्पादन बढाउनुपर्दछ, उत्पादनमा सरकारी सहजीकरणले सहयोग पुर्याउँछ ।’
निजी क्षेत्रतर्फ जाने कर्जा विस्तारले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने डा. अर्यालको भनाई छ । तर निजी क्षेत्रको माग बढाउने नीति र कार्यक्रमको अभाव रहेको बताए । समग्र माग बढाउने उपाय बजेटमा नभएकाले कर्जा विस्तार सङ्कुचित हुने जोखिम रहेको उनको भनाई छ।
उनले भने,‘राजस्व नीति संयमित र सकारात्मक छ, तर सरकारी खर्च नबढी र निजी क्षेत्रबाट वस्तु तथा सेवाको उत्पादन नबढी राजस्व बढ्दैन, यसमा हेक्का राख्नुपर्दछ ।’
बजेट साँच्चिकै कार्यान्वयन भयो भने अर्थतन्त्र गतिशिल बनाउन सहयोग पुग्ने उनको भनाई छ ।
उनले भने,‘विगतभन्दा कार्यान्वयन कसरी फरक हुन्छ, त्यसमा ध्यचपयगत गर्नुपर्छ, यसका लागि सरकारी कार्यक्रम र आयोजनाको कार्यान्वयनमा सरकारको ३६५ दिन नै क्रियाशीलता आवश्यक पर्छ ( बजेट आएपछि सुस्ताउने रोगबाट मुक्त हुनुपर्छ ।’
सरकारी क्षेत्रमा निर्णय नगर्ने, काम पन्छाउने प्रवृत्ति हावी छ, त्यसमा निर्मम ढङ्गले सुधार गर्नुपर्ने उनको भनाई छ ।
‘निर्णयको सुरक्षा हुने सुनिश्चित हुनुपर्छ । अन्तर निकाय समन्वय सधैं समस्यामा छ, यसलाई देखिने गरी सुधार गर्नुपर्दछ’, डा. अर्यालले भने,‘स्थानीय अवरोध, निर्माण सामग्रीको आपूर्ति अवरोध, भुक्तानी प्रक्रियामा ढिलाइ जस्ता विषयहरूलाई पहिलो दिनदेखि नै सम्बोधन गर्दै जानुपर्दछ ।अर्थ मन्त्रालयको सहजीकरण अति महत्त्वपूर्ण हुन्छ, चाहे त्यो आन्तरिक स्रोत परिचालनमा होस् वा वैदेशिक सहयोग परिचालनमा।’