हेटौंडा उपमहानगरको बजेट २ अर्ब ९० करोड

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
उपप्रमुख राजेश बानियाँले नगरसभामा प्रस्तुत गरेको बजेट अनुसार खर्च धान्न संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख, आन्तरिक आम्दानीबाट ६२ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट ९२ करोड ७१ लाख, प्रदेश सरकारबाट ११ करोड ४६ लाख र नगर विकास कोषबाट ३ करोड ६० लाख रुपैयाँ जुटाउने योजना छ ।
बजेटमा नगरस्तरीय पूर्वाधार निर्माणका लागि ६२ करोड ३९ लाख, वडास्तरीय योजना कार्यान्वयनमा ३२ करोड २५ लाख, शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक विकास क्षेत्रमा समेत उल्लेख्य विनियोजन गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ६ करोड ५० लाख र संस्थागत विकासतर्फ ६३ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।