विश्वासिलो ब्रान्ड हिलटेकले गर्यो ९ महिनामा २५ करोडको व्यापार

काठमाडौं । प्लास्टिक ट्यांकी र पाइप उत्पादनमा परिचित हिलटेक प्लास्टिक एण्ड पाइप इन्डस्ट्रिजले ९ महिनामै २५ करोड बढीको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२४–२५ का नौ महिनामा २५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार (अपरिष्कृत) गरेको हो ।
कम्पननीको वार्षिक आँकडा हेर्दा व्यापारमा केही गिरावट देखिन्छ । गत वर्ष कम्पनीको व्यापार २१.१७ प्रतिशत घटेको थियो ।
कम्पनीले सन् २०२४ मा ३५ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । जबकि, अघिल्लो वर्ष स्न २०२३ मा भने ४४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२२ मा ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
पछिल्ला वर्षमा कारोबारमा गिरावट देखिनुमा बढ्दो बजार प्रतिस्पर्धा, आर्थिक शिथिलता र सरकारी ठेक्कामा कम सहभागिता लगायतले कम्पनीको व्यापारमा केही असर परेको देखिन्छ । यद्यपि, प्रतिस्पर्धी बजारमा टिकिरहन कम्पनीले गुणस्तर र सेवा सुधारमा विशेष ध्यान दिइरहेको जनाएको छ ।
एचडीपीई, डीडब्लूसी र पीपीआर पाइप कम्पनीको मुख्य आम्दानीको स्रोत हुन् । यी उत्पादनहरू निर्माण र पूर्वाधार क्षेत्रमा उच्च माग हुने सामग्री पर्छन् ।
व्यापारिक स्थायित्व कायम राख्न कम्पनीले ८० करोड रुपैयाँ बराबरको बैंकिङ कर्जाका लागि इन्फोमेरिक्सबाट क्रेडिट रेटिङ समेत प्राप्त गरिसकेको छ ।
हिलटेक ब्रान्ड नेपालका विभिन्न क्षेत्रमा पाइपलाइन, पानी ट्यांकी, प्लम्बिङ र निर्माण सामग्री आपूर्ति गर्दै आएको विश्वासिलो नाम हो ।