बजार उपस्थिति बलियो बनाउँदै जस्मिन पेन्ट्स, २६ प्रतिशत बढायो व्यापार « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

बजार उपस्थिति बलियो बनाउँदै जस्मिन पेन्ट्स, २६ प्रतिशत बढायो व्यापार



काठमाडौं । नेपालको रंग उद्योगमा पछिल्लो समय चम्किलो उपस्थिति जनाउँदै आएको जस्मिन पेन्ट्सको व्यापारमा उल्लेख्य प्रगति गरेको छ ।

पछिल्लो ९ महिनामै कम्पनीले झन्डै ६४ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले एक वर्षको अवधिमा आफ्नो व्यापार २६ प्रतिशत बढाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ६३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढाउन सफल भएको छ ।

सन् १९९४ देखि रंग व्यवसायमा क्रियाशील जस्मिन पेन्ट्सले नेपाली बजारमा इन्टेरियर, एक्सटेरियर, मेटल वुड तथा वाटरप्रुफ पेन्ट्स उपलब्ध गराउँदै आएको छ । १९ हजार ३२७ मेट्रिकटन वार्षिक उत्पादन क्षमतासहित कम्पनीले देशभर आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीले चार वर्ष ९ महिनामा ३ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

गत वर्ष सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको जस्मिन पेन्ट्सले उक्त वर्ष ६७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसअघि सन् २०२३ मा ६२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा ७४ करोड ६० लाख र सन् २०२१ मा ६५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

कम्पनी मुख्यालय चितवनको भरतपुरमा छ । कम्पनीमा मधुसुधन अर्यालको ३६ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २३ प्रतिशत, अनराधा शर्मा अर्यालको १५ प्रतिशत, सौगात अर्यालको १३ प्रतिशत र संगिता अर्यालको १० प्रतिशत स्वामित्व रहेको छ ।

व्यापारमा देखिएको पछिल्लो वृद्धिले आगामी दिनहरूमा अझै सकारात्मक नतिजा ल्याउने अपेक्षा गरिएको छ । जस्मिन पेन्ट्सले नेपाली बजारमा मात्र नभई गुणस्तरीय उत्पादन र विस्तार योजना समेत अघि सारको छ ।


प्रतिक्रिया दिनुहोस्