एसडीजी ग्लोबल इम्पोर्टसको व्यापार १२.७४ प्रतिशत बढ्यो, एकै वर्ष डेढ अर्ब कारोबार

काठमाडौं । एसडीजी ग्लोबल इम्पोर्टसले एकै वर्ष डेढ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ५३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन, अघिल्लो वर्षको तुलनामा १२.७४ प्रतिशत बढी हो । अघिल्लो वर्ष सन् २०२३ मा कम्पनीले १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् २०१७ मा स्थापना भएको यस कम्पनीले तेल, चिनी, चामल, दाल, जीरा, पिनट, मिश्री, शखर र गोल्डेन रेजिन जस्ता खाद्य वस्तुहरू आयात गरी देशभर बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीका अनुसार सन् २०२२ मा १ अर्ब ५६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । हालको आर्थिक वर्षको पहिलो १० महिनामा मात्र कम्पनीले १ अर्ब ४८ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरिसकेको जानकारी दिएको छ ।
पछिल्ला दुई वर्षमा व्यापारमा करिब ५ प्रतिशतको दरले वृद्धि भइरहेको कम्पनीले जनाएको छ । देशभरका सयभन्दा बढी सहरमा कम्पनीले आफ्ना आयातित सामानहरू उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको रेटिङसमेत गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ५५ करोड र अल्पकालीन कर्जाका लागि पनि ५५ करोड रुपैयाँको व्यवस्था गरिएको छ ।