थप दुई कम्पनीले गर्यो लाभांश घोषणा, नगद भन्दा बोनसमा जोड

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट लाभांश घोषणा गरी रहेका छन् । अधिकांश बैंकहरुले सार्वजनिक गरी रहदाँ लघुवित्त र हाइड्रोपावरहरुले पनि आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइरहेका छन् । शुक्रबार मात्र २ कम्पनीले लाभांश घोषण गरेका छन् ।
फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
अरुण भ्याली हाइड्रोपावर
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारितपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।