पीपीए र आईपीओको गाँठो फुकाउन सरकारसँग इप्पान अध्यक्ष कार्कीको आग्रह « Arthapath.com
२९ जेष्ठ २०८३, शुक्रबार

पीपीए र आईपीओको गाँठो फुकाउन सरकारसँग इप्पान अध्यक्ष कार्कीको आग्रह



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले वर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई ऊर्जा क्षेत्रको इतिहासमा स्वर्णिम नाम लेखाउने ऐतिहासिक अवसर रहेको बताएका छन्।

इप्पानको २६औं साधारण सभा तथा ८औं अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष कार्कीले मन्त्री श्रेष्ठको कार्यशैलीप्रति निजी क्षेत्र निकै आशावादी रहेको बताए।

उनले विगतमा ऊर्जा क्षेत्रको सुधारका लागि केवल शैलजा आचार्यको नाम लिइने गरेको स्मरण गर्दै, अब आगामी दिनमा मन्त्री श्रेष्ठले त्योभन्दा ठूलो इतिहास रच्न सक्ने विश्वास व्यक्त गरे। सन् १९९२ मा सरकारले लिएको खुकुलो नीतिका कारण नै देश लोडसेडिङको अन्धकारबाट मुक्त भई ऊर्जा व्यापारको युगमा प्रवेश गरेको उनले उल्लेख गरे।

अध्यक्ष कार्कीले जलविद्युत उत्पादनमा निजी क्षेत्रको प्रवेश नभएको भए मुलुकले अझै पनि दैनिक १६ घण्टासम्मको भयावह लोडसेडिङ भोग्नुपर्ने अवस्था रहने दाबी गरे। विगतका बजेट र नीतिगत कार्यक्रमहरू घोषणामा मात्र सीमित भए पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीसहितको बलियो सरकार भएकाले निजी क्षेत्रका रैथाने समस्या समाधान हुनेमा आफूहरू ढुक्क रहेको उनले बताए।

निजी क्षेत्रले विगत २–३ वर्षदेखि निरन्तर उठाउँदै आएका मागहरू यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएकोमा उनले खुसी व्यक्त गरे। सरकारले बजेटमार्फत १८० दिनभित्र विद्युत खरिद सम्झौता (पीपीए) गर्ने र ‘टेक अर पे’ को व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले मन्त्री श्रेष्ठको नेतृत्वमा यो काम समयमै फत्ते हुने उनको आशा छ।

यसै क्रममा अध्यक्ष कार्कीले जलविद्युत आयोजनाहरूको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) को म्याद थप्न लामो समयदेखि आग्रह गर्दा पनि नेपाल विद्युत प्राधिकरणको बोर्डबाट निर्णय हुन नसकेकाले मन्त्रीस्तरीय पहलका लागि अनुरोध गरे।

साथै, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जलविद्युत कम्पनीहरूको आईपीओ स्वीकृति प्रक्रिया विगत २–३ वर्षदेखि अड्किएकोमा दुःख व्यक्त गर्दै उनले ऊर्जा र अर्थ दुवै मन्त्रालय धाउँदा पनि समस्या सुल्झिन नसकेकाले सरकारले तत्काल यो गाँठो फुकाइदिनुपर्ने माग गरे।


प्रतिक्रिया दिनुहोस्