१८ भदौ २०८३, बिहिबार

गरिमा बैंकको साधारणसभा माघ ३० गते, सहायक कम्पनी स्थापना गर्ने



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८ रुपैयाँ रहेको छ । ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

यस्तै साधारण सभाले सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न प्रबन्धपत्रमा उद्देश्य तथा कार्यहरु थप गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको सञ्चालक समितिको बैठक, साधारण सभा लगायतका बैठक तथा सभाहरु विद्युतिय माध्यमबाट पनि गर्न सक्ने गरी नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु सो सभाले पारित गर्नेछ।

साधारणसभा प्रयोजनको लागि बैंकले माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिने छ । त्यसैले माघ ११ गतेम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश लिन पाउनेछन् ।