१८ भदौ २०८३, बिहिबार

विदेशी लगानी ल्याउन पुर्वस्वीकृति नचाहिने राष्ट्र बैंकको नयाँ प्रबन्धलाई बैंकका साहुजिहरू द्वारा स्वागत



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकको पछिल्लो विनियमावलीको स्वागत गरेको छ । केन्द्रिय बैंकले हिजोमात्रै ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरेर विदेशी ऋण र लगानीमा आफ्नो पूर्वस्वीकृति आवस्यक नपर्ने व्यवस्था गरेको थियो ।

परिसंघले यस्तो व्यवस्था गर्न विगतदेखि माग गर्दै आएको थियो । गभर्नरलाई २०७७ असार २८ गते र अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलज्यूलाई २०७७ पौष १९ गते परिसंघले बुद्धाएको सुझावपत्रमा समेत यससम्बन्धी व्यवस्थाको माग गरिएको थियो ।

कोभिड महामारी पछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रमहरू संचालन गरिरहेको परिसंघले बताएको छ । परिसंघले बुधबार एक विज्ञप्तीमार्फत् भनेको छ, ‘नेपालले पनि बैदेशिक लगानी आकर्षित गर्न सहज लगानी मैत्री नीतिगत व्यवस्था र वातावरण सृजना गर्नु अत्यावश्यक थियो ।’

राष्ट्र बैंकले विदेशी लगानी ल्याउनका लागि गरेको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने, विभिन्न पूर्वाधारमा लगानी बढ्ने, आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक बृद्धिमा योगदान पुग्ने बताएको छ ।