२६ श्रावण २०८३, मंगलबार

डलरको भाउ तीन महिनायताकै उच्च, सुनदेखि पेट्रोलसम्म महँगिदै



काठमाडौं । अमेरिकी डलरको भाउ तीन महिनापछि पहिलो पटक १२० रुपैयाँ नाघेको छ । यसअघि गत वैशाख पहिलो साता १२० रुपैयाँ ४० पैसासम्म पुगेर ओरालो लागेको डलरको मूल्य १३ वैशाखयताकै उच्चतम विन्दुमा पुगेको हो ।

मंगलाबार एकै दिन ५० पैसा महँगिएपछि डलरको भाउ उचालिएको हो । भारतमा बढ्दो आयातका कारण डलर महँगो भएपछि नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । अब पुनः एक दिन डलरको भाउ यति नै महँगिने हो भने नेपाली बजारमा अमेरिकी मुद्रा खरीद गर्न एक वर्षयताकै महँगो पर्ने छ ।

११ वैशाख २०७७ मा राष्ट्र बैंकले डलरको विक्रि दर १२२ रुपैयाँ ९८ पैसा तोकेको थियो । त्यस दिन नेपाली बैंकहरुले सटही दर १२५ रुपैयाँसम्म लिएका थिए । भलै त्यसबेला नेपालमा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दीको अवस्था थियो । त्यसयता घट्दो क्रममा रहेको डलरको भाउ गत महिना १२० रुपैयाँ ४० पैसासम्म पुगेको थियो ।

मंगलबार राष्ट्र बैंकले डलरको विक्रीदर १२० रुपैयाँ १० पैसा तोकेको छ । जसका कारण अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घट्दासमेत नेपाली उपभोक्ताले त्यसको लाभ पाउन सकेनन् । हिजो अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिआंैंश २० डलरसम्म घटेको थियो । तर नेपाली बजारमा भने मंगलबार सुन उल्टै ४०० रुपैयाँ प्रतितोला महँगो भएको छ । यसो हुनुमा महँगिएको डलरले काम गरेको छ ।

यद्यपि, भारतीय बजारमा मंगलबार अमेरिकी मुद्रा भारी मात्रामा सस्तिएको छ । हिजो डलरको तुलनामा ७ पैसा सस्तिएको भारु आज भने २७ पैसा महँगिएको छ । भारु महँगो हुँदा भारतमामात्र होइन, नेपालमा पनि डलर सस्तिन्छ ।

यसले बुधबार नेपाली बजारमा डलर केही सस्तिनसक्ने देखाएको छ । यद्यपि, यसका लागि हाम्रो समयअनुसार आज राति अर्थात् न्यूयोर्कमा मंगलबारको ब्यापारमा देखिने डलरको हैसियतले भोलि नेपाली मुद्राको सटही दर तय हुने छ ।

पछिल्लो चार वर्षमा (१ जुलाई २०१७ देखि आजसम्म) अमेरिकी डलरको सन्दर्भ विक्री मूल्य । स्रोतः नेपाल राष्ट्र बैंक ।