सर्वोत्तमको शेयर प्रकरणमा मुछिएका बोर्डका अध्यक्ष ढुंगानालाई कारबाही गर्न कर्मचारी युनियनको माग
काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा आरोपित अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरी छानबिन थाल्न नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी युनियनले माग गरेको छ । कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्षको इमानदारी, कानूनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन देखिएको भन्दै बोर्डको गरिमालाई आँच आउन नदिन आरोपित व्यक्तिमाथि छानबिन अघि बढाएर कारबाही गर्न माग गरेको हो ।
बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न बोर्डका अध्यक्ष र संचालकलाई निलम्बनको कारबाही माग गरेका हुन् । “धितोपत्र ऐन २०६३ को प्रस्तावना मै उल्लेख गरिए अनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मुल मर्म अनुसार बोर्डको नेतृत्व एवं संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहदैन, बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन हो” अध्यक्ष राजबहादुर जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभिन्न संचारमाध्यममा आएको विषयले बोर्ड अध्यक्षको इमानदारिता, कानूनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन भएको देखिएको उल्लेख गर्दै धितोपत्र बोर्डको गरिमालाई आँच आउन नदिन त्यस्तो कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न माग गरिएको हो । अध्यक्षले गरेको गल्तीमा सिंगै संस्थालाई मुछेर अर्थ मन्त्रालयले पत्र पठाएकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।













