चिनि मिलले पैसा नदिएपछि किसानले आफैँ पेल्न थाले उखु, सख्खर बनाउँदै बेच्दै
काठमाडौं । चिनी मिलले उखु किनेर पैसा भने वर्षौंसम्म नतिर्ने भएपछि किसानहरुले अब बारीको उखु आफैँ पेल्न थालेका छन् । उद्योगको मनोमानीले आजित बनेका किसानले उखु पेलेर सख्खर (गुड) बनाउन थालेका हुन् ।
नगदे बालीको रूपमा किसानले रोजेको उखु चिनी उद्योगलाई दिँदा अनेक समस्या हुन थालेपछि किसानले राम्रो बजार भाऊ पाउन छठ अघि नै उखु पेलेर खुँदो र सख्खर बनाउन थालेका हुन् । उखुबाट गुलियो सखर बनाउने उद्योगलाई स्थानीय भाषामा ‘कोल्हु वा कोल’ भनिन्छ । तराइका यस्ता उद्योगमा उखु पेल्ने क्रम बढेको छ ।
गाउँतिरको कोल्हु उद्योगले उखु किन्ने तथा किसान स्वयंले पनि उखु पेल्न थालेपछि किसान र मिठा उद्योग दुवै बाँचेका छन् । चिनी उद्योगले बेलैमा उखु नकिनिदिने, किने पनि पैसा लिन धौ–धौ पर्ने भएपछि किसान आजित छन् । चिनि उद्योगले किसानसँग लिएको उखुको पैसा भुक्तानी नगरेको भन्दै काठमाडौंका सडकमा समेत किसानले आन्दोलन गरिसकेका छन् ।
पटक पटक सरकार, किसान र उद्योगिबीच समझदारी भए पनि उद्योगीहरु किसानलाई पैसा तिरिरहेका छैनन् । बरु भारतदेखि ब्राजिलसम्मबाट सस्तो चिनी ल्याएर आफ्नो उद्योगको ब्राण्डमा बेच्ने गरेकाले आफ्नो उखु किन्न उद्योगीहरु तयार नभएको किसान बताउँछन् ।
छठअघि नै उखु पेल्न पाए उखु रोपेको ठाउँमा तोरि र मुसुरोजस्ता दाल रोप्न पनि पाइने, चाँडै नगद हात पनि लाग्ने भएपछि किसानहरु सख्खर बनाएर बेच्नेतिर लागेका हुन् । अहिले उखु खेती ५० प्रतिशतले घटेको र अहिले भएको खेतिको उखु पनि सख्खर बनाउन थालेपछि अब चिनि मिललाई भने उखु अभाव हुनसक्ने देखिएको छ ।
उखु पेलेर सख्खर उत्पादन गर्ने मिलहरुले पनि किसानबाट उखु किन्छन् । यस्ता मिलले अहिले किसानबाट एक क्वीण्ढटल उखुको ५०० देखि ५५० रुपैयाँ मूल्य तिर्ने गरेको बताएका छन् ।













