खोलामा डुबेर र छतबाट लडेर २ जनाको मृत्यु
काठमाडौं । बझाङ्गको साईपाल गाउँपालिका–२ ढलौन घर भई जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारमा डेरा गरी बस्ने १७ वर्षीय कलक बोहराको सोही ठाउँस्थित बाउलिगाड खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
उक्त खोलामा नुहाउने क्रममा पानीमा डुबेर अशक्त भएका उनलाई उद्दार गरी जिल्ला अस्पताल बझाङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, बझाङ्गको बित्थडचिर गाउँपालिका-१ बित्थडबजार बस्ने ४० वर्षीय वीर बहादुर बोहराको पसलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा पसलभित्र रहेको नगद ५० हजार, खाद्यान्न, विभिन्न किसिमका मदिरा लगायतका सम्पूर्ण सामानहरू जलेर करिब ३१ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, लितपुर महानगरपालिका-७ भिन्छेबहाल बस्ने ५६ वर्षीय राजु बज्राचार्यको ससुराली घरको छतबाट लडेर बिहीबार मृत्यु भएको छ ।
सोही महानगरपालिका-२० नटोलस्थित ससुरालीको ३ तले घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अल्का अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
















