छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ । चैत्र ६ गते आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।
सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ ।
जस अन्र्तरगत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल “दि एलोफ्ट” सञ्चालन भइरहेको छ । विदेशी पर्यटकहरुको लागि अति नै लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित रहेको छायाँ देवी कम्पलेक्स लिमिटेड नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्सको रुपमा रहेको छ ।













