प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सन्तोषजनक काम गरेनः कृषि मन्त्री यादव - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सन्तोषजनक काम गरेनः कृषि मन्त्री यादव



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् । नेपाल हर्टिकल्चर सोसाइटीले बुधवारदेखि सुरु गरेको १३ औं बागवानी गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानको लागि के कति काम गरेको समिक्षा हुनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री आधुनिकीकरण परियोजनासँग प्रधानमन्त्रीको नाम जोडिएको छ, त्यसबाट जनताले कति फाइदा लिए, किसानले कति फाइदा लिए त्यसको बारेमा पनि समिक्षा हुनुपर्छ ।’

परियोजनाले सोचेजस्तो प्रगति गर्न नसकेको बताउँदै उनले प्रधानमन्त्रीको नाममा खोलिएको परियोजना भएको हुनाले त्यसको प्रतिष्ठाको पनि ख्याल गर्नुपर्ने बताए । उनले एक अर्को प्रसङ्गमा विदेश जाने युवालाई कृषिप्रति आकर्षित गर्नका लागि बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिए । देशमा थुप्रै बाँझो जमिन छन् तर त्यसलाई कसरी प्रयोगमा ल्याउने त्यसको बारेमा सोच्नुपर्ने बताउँदै उनले जोसँग जमिन छैन, त्यसलाई बाँझो जमिन दिएर कृषिप्रति आकर्षित गर्नुपर्ने बताए ।

कतिपय युवा खेती गर्नका लागि यहाँ जमिन नपाएर ऋण लिएर भएपनि वैदेशिक रोजगारमा जाने गरेका छन्, त्यसलाई रोक्नका लागि नीति बनाएर बाँझो जमिन वितरण गर्नुपर्ने उनले बताए । बाँझो जमिनमा लगानी बढाउनुपर्ने बताउँदै मन्त्री यादवले त्यस्ता जमिनमा चकलाबन्दी वा सहकारीको माध्यमबाट खेती गरेर उत्पादनमा वृद्धि गर्नुपर्ने बताए । उनले तहगत खेती प्रणालीमा पनि जोड दिनुपर्ने बताए । थोरै जग्गामा धेरै उत्पादन कसरी गर्न सकिन्छ, त्यसको बारेमा नीतिगत छलफल गरेर अगाडि बढ्नुपर्ने बताउँदै उनले कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए ।

विहिवारसम्म चल्ने सो गोष्ठीमा बागवानी सम्बन्धि विभिन्न कार्यपत्र प्रस्तुत हुने भनिएको छ । बागवानीका विज्ञहरु कौशलकुमार पौडेल, किशोर चन्द्र दहालm अनिलकुमार अचार्य, विनोद कुमार भट्टराई, डा.हरिबहादुर केसी, डा.उमेशकुमार आचार्य, सुरेन्द्रलाल श्रेष्ठ, प्रदीपराज रोकया, डा.गरिधारी सुवेदी, जीतनारानायण चौधरी, राजेन्द्र गौतम, जीवन श्रेष्ठ, श्यामप्रसाद पौडेल, डा.कालिका प्रसाद पौडेललगायतले आआफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ ।

बागवानी क्षेत्रको विकासमार्फत बाँझो जग्गाको उपयोग प्रवर्धन गर्न सरोकारवालाहरुलाई सुझाव प्रदान गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको सोसाइटीका अध्यक्ष इन्द्रराज पाण्डेले बताए । यो गोष्ठीपछि कोभिड १९ (कोरोना) ले जनजीविकामा पारेको असरबाट मुक्ति पाउन बागवानी क्षेत्रले खाद्य तथा पोषण सुरक्षा र आय आर्जनमा खेल्न सक्ने भूमिकाको विश्लेषण गरी सरकारलाई सुधारात्मक सुझाव समेत दिने उनले बताए ।

बागवानी बालीहरुको दिगो विकासकोलागि केन्द्र, प्रदेश र स्थानिय तहमा संचालन भइरहेको बागवानी सम्बन्धि कार्यक्रमलाई अझ बढी सुदृढ रुपमा सञ्चालन गर्न श्रोत केन्द्रहरुको विकास र अवलम्वन गर्नु पर्ने नीति सिफारिस गर्नुको साथै आयात प्रतिस्थापन र निर्यात प्रबर्धनको लागि बागवानी बालिहरुको बीउ बिरुवा र मूख्य उत्पादनको गुणस्तर नियमन र व्यवसाय प्रवर्धन गर्न नेपाल सरकारलाई नीतिगत सुझाव पनि दिइने उनले बताए ।

कार्यक्रममा वागवानीका विभिन्न विज्ञ तथा कृषकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा अनन्त बहादुर श्रेष्ठ, बाबुकाजी, शिवबहादुर नेपाली, पदम प्रसाद श्रेष्ठ, खलिल मियाँ, त्रिलोकनाथ श्रेष्ठ, रामबल्लभ शाह, डा.केदार बुढाथोकी, राजेन्द्र प्रसाद श्रेष्ठ, लोकनाथ देवकोटा, मधुमाया काफ्ले, ध्वजबहादुर शाही र प्रज्ञा पौडेल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्