११ श्रावण २०८३, सोमबार

नेपाल टिन लिडर्सले तेस्रो ब्याचको ग्य्राजुयसन समारोह सम्पन्न



काठमाडौं । नेपाल टिन लिडर्सको तेस्रो ब्याचको ग्य्राजुयसन तथा चौथो ब्याचको स्वागत कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री डा. भीम रावलको प्रमुख आतिथ्यमा शनिबार दशरबारमार्गस्थित एक होटेलमा भएको समारोहमा ग्य्राजुयट भएकाहरुलाई प्रमाणपत्र वितरण गरि सम्पन्न गरेको हो ।

आयोजक करियर पोइन्ट एजुकेसन सर्भिसेजका निर्देशक शिव दनैले कार्यक्रमको अध्यक्षता गरेका थिए । करियर पोइन्टका कार्यकारी निर्देशक तथा नेपाल टिन लिडर्सका सुरुवातकर्ता विशाल केसीले नेपाली प्राज्ञिक गृहले विद्यार्थीलाई राम्रो शिक्षा दिएर पनि समग्र विकासमा सहयोग गर्न नसकेको भन्दै टिन लिडर्सले विद्यार्थीलाई हराएको बिन्दुहरू जडान गर्न मद्दत गरिरहेको बताए ।

उक्त समारोहमा बोल्दै डा. रावलले युवाहरुले राजनीतिलाई दोषारोपण मात्र गरेको बताए । राजनीतिमा खराब कुराहरु भएको र खराब कुरा सच्याउन टाउकोमा हाल राखेर मात्र नहुने भन्दै उनले युवाहरु राजनीतिमा आउनुपर्नेमा जोड समेत दिए ।
हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीले आफूलाई एकेडेमिक पार्ट मात्र नभएर समग्र विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्ने बताए । विद्यार्थीको सिर्जनशीलता विकासका लागि कलेजहरूले गर्नुपर्ने यस्ता काम गरेकोमा उनले आयोजकको सराहना गरे ।

त्यस्तै, युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले नेपाल टिन लिडर्ससँग अबका दिनहरूमा सहकार्य गरेर अघि बढ्ने र सामाजिक रूपान्तरणमा टिन लिडर्सलाई पनि साथ लिएर अघि बढ्ने बताए । कार्यक्रममा गोल्यान ग्रुपका अध्यक्ष एवं एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान, टुर्किस एयरलाएन्सका महाप्रबन्धक अब्दुल्लाह तुनसन केसेसीलगायतको उपस्थिति रहेको थियो ।