आइएमईको २२ औँ वार्षिकोत्सव सम्पन्न, रेमिट्यान्स बढाउन सचेतनामूल कार्यक्रम गर्नुपर्ने
काठमाडौं । आईएमई ग्रुपका निर्देशक तथा आईएमई लिमिटेडका बरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले देशको जिडिपिमा २४ प्रतिशत रेमिट्यान्स योगदान रहेको बताएका छन् । आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाली अर्थतन्त्रको २४ प्रतिशत योगदान रेमिटेयान्सको रहेको बताएका हुन् । साथै उनले रेमिट्यान्सका ग्राहकलाई कर्जा दिने, बीमासँग रेमिट्यान्सलाई जोड्ने, बैधानिक च्यानलबाट रेमिट्यान्स ल्याउन नितिगत तयारी गर्नु पर्ने लगायतका कुराहरुमा सरकारले जोड दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर्स अफ कमर्सको पुर्व अध्यक्ष राजेश काजी श्रेष्ठले रेमिट्यान्स ल्याउनेलाई सम्मान र अन्य एक्पोटलाई छुट दिनु पर्ने बताए । उनले गाउँगाउँमा हुण्डी कारोबार बढि भईरहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । विदेश जानेहरूलाई रेमिट्यान्स कानुनी च्यानलबाट मात्रै पठाउन सचेतनामूलक कार्यक्रमहरु गर्न आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा सीएनआईका अध्यक्ष विष्णु अग्रवालले औद्योगिककरणउन्मुख बजेट आएको बताए । बजेटमा उद्योगीहरुका लागि सबै कुराहरु समेटिएकाले कार्यन्वयनमा जोड दिनुपर्ने उनले बताए । तरलताको समस्या समाधा गर्न १ हजार अर्ब रुपैयाँ बराबरको कोष बनाउनुपर्ने उनले माग गरे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू पौडेलले वि.स.२०३१–०३२ सालदेखि विदेशी मुद्राको कारोबार हुँदै आएको भएपनि २०५८ सालबाट मात्रै रेमिट्यान्स आउन थालेको बताए । कुनै वर्ष ३० प्रतिशतसम्म जिडिपिमा योगदान रहेको स्मरण गराउँदै २०७६ सालदेखि रेमिट्यान्स आयात घट्दै गएको उनको भनाई छ ।
मुख्यसचिव शंकरदाश बैरागी, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अर्थ सचिव मधुकुमार मरासैनिले विदेश जाने भन्दा नेपालमै रोजगारी दिने बजेट आएको बताएका थिए । दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमा नै उत्पादन गरी विदेश निर्यात गर्ने खालको बजेट आएको उनीहरुको भनाई थियो ।













