१६ श्रावण २०८३, शनिबार

एसईई नतिजा सार्वजनिक, यसरि हेर्नुहोस नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।  यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ । 

यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको थियो । 

यस वर्षको परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका दिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परिक्षाको नतिजा यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।

सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃  टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/  मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने जनाएको छ । कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।