तिहारमा साढे १३ करोडको २४ लाख ४५ हजार माला खपत हुने, ८५% आन्तरिक उत्पादनले धान्ने
काठमाडौं । यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने अनुमान गरिएको छ । तिहारको पाँच दिनमा यस वर्ष २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको हो ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा करिब १३ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुनेछ । तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको बढी माग हुने गरेको छ । फूलको सबैभन्दा बढी माग लक्ष्मी पूजाको दिनदेखि भाइटीकासम्म माग हुने गरेको हो । यस वर्ष तिहार कात्तिक १० गते परेको छ ।
यस वर्ष करिब २० लाख सयपत्री, ४ लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको हो । गत वर्षको तिहारमा भने करिब १८ लाख १५ हजार व्यवसायिक सयपत्री फूलको माला खपत भएको थियो । अघिल्लो वर्षको खपत तुलनामा यस वर्ष समग्रमा १० प्रतिशतले सयपत्री फूलको माग वृद्धि हुने एसोसिएसनले जनाएको छ ।
यस वर्षको दशैं अवधिमा ४/५ दिन लगातार अत्याधिक मनसुनी वर्षा भएका कारण सयपत्री फूलको आन्तरिक उत्पादनमा कमी आउन सक्ने देखिएको छ । तर, सातै प्रदेशका अधिकांश भागमा व्यवसायिक रुपमा फूलको खेती भएकाले तिहारका लागि आवश्यक सयपत्री फूलको बजार माग आपुर्तिका लागि खासै समस्या नहुने नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङ्ले बताए । उनका अनुसार सयपत्री फूलको बजार मागको आपुर्तिका लागि ग्रार्मिण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले नै धान्नेछ । सहर केन्द्रित क्षेत्रहरुमा करिब ८५ प्रतिशत आन्तरिक तथा १५ प्रतिशत आयात गरि पुरा गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए ।
तिहारको बेला सयपत्री फूलको माला मात्रै ११ करोडको कारोबार हुने अनुमान गरिएको छ । सयपत्री फूल आन्तरिक उत्पादन १७ लाख र ३ लाख आयात गरि आपूर्ति हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक गंगा बहादुर तामाङले जानकारी दिए ।
अघिल्लो वर्ष भने यो फूलको कारोबार ९ करोड ९८ लाख रुपैयाँ बराबरको भएको थियो । एसोसिएसनका अनुसार यसवर्ष मखमली फूलको माला १ करोड ७० लाख रुपैयाँ, र गोदावरी फूलको माला भने ८० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
सयपत्री मालाको औसत प्रति थोक मूल्य ५५ रुपैयाँ, मखमलीको ४० रुपैयाँ र गोदावरी फूलको औसत प्रति थोक मूल्य ४०० रुपैयाँमा खपत हुनेछ । अघिल्लो वर्षको तुलनामा मखमली फूलको मालामा ५ रुपैयाँ र गोदावरीको ५० रुपैयाँ वृद्धि हुनेछ । तर, सयपत्री फूलको मालाको भने अघिल्लो वर्षकै मूल्यमा खपत हुनेछ ।
नेपालमा सातै प्रदेशका विभिन्न क्षेत्रमा सयपत्री फूलको व्यवसायिक उत्पादन भईरहेको छ । हाल काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ्ग, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ्ग, धनुषा, सर्लाही, सप्तरीमा सयपत्री फूलको व्यवसायिक रुपमा खेती भईरहेको छ । यस्तै, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायतका जिल्लामा सयपत्री फूलको व्यवसायिक उत्पादन भईरहेको छ ।
त्यसैगरि मखमली फूल भने काठमाडौंको ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ्ग र इलाम लगायतका क्षेत्रहरुमा व्यवसायिक खेती भईरहेको छ ।













