‘पुसमा सवा खर्ब पैसा बाहिरिन्छ, तरलता अभावको समस्या झन् बढ्छ’: गभर्नर अधिकारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘पुसमा सवा खर्ब पैसा बाहिरिन्छ, तरलता अभावको समस्या झन् बढ्छ’: गभर्नर अधिकारी



काठमाडौं । बजारमा तरलताको केही सहजता भइरहेको छ । तर सधैं सहजता रहँदैन । पुस महिना जहिले पनि तरलताका लागि चूनौतिपूर्ण हुन्छ । पुसमा कर तिर्नुपर्ने भएकाले बजारबाट ३०–४० अर्ब रुपैयाँ सरकारको खातामा आउँछ । पुस महिनामै सरकारले करीब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना छ । यो नियमित प्रक्रिया हो, राज्यले अहिले हठात पैसा थुत्न खोजिएको होइन । यसबाहेक गत वर्ष राष्ट्र बैंकले दिएको पुनरकर्जाको अवधि पनि पुसमै सकिँदै छ । यसबाट ६०–७० अर्ब बैंकहरुले राष्ट्र बैंकलाई पुसमै तिर्नुपर्ने अवस्था छ ।

यी सबै घटनाको असर पुसमा वित्तीय क्षेत्रको तरलतामा पर्छ । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्न सकिन्छ र तरलतालाई सहज पार्न सकिन्छ भनेर हामीले प्रयास गरिरहेका छौं । नेपाल राष्ट्र बैंकले तरलता सहजताका लागि गरेको प्रयासलाई अलि गहिरो रुपमा हेर्नुपर्ने आवस्यकता छ ।

गत साल एकै वर्षमा करीब ९७ खर्बको तरलता बजारमा पठाइएको छ । यसको मतलव सधैंजसो २ देखि साढे २ खर्ब हाराहारी पैसा राष्ट्र बैंकले बजारमा छाडिरहेको छ । केन्द्रिय बैंकको आफ्नो पैसा बजारमा दिइरहेको छ । राष्ट्र बैंकले आफ्नो ठाउँबाट गर्नुपर्ने काम गरिरहेको छ । तै पनि बजारमा सोचेजस्तो सहजता भइरहेको छैन ।

तरलता अभावको यो अवस्था सिर्जना हुनुमा के कारण हो ? भनेर हामीले बुझ्नु पर्छ । अहिले नेपाली बजारमा देखिएको समस्याको कारण हाम्रो भुक्तानी सन्तुलन हो । लामो समय नेपालले शोधनान्तर घाटा व्यहोर्नु पर्यो । हाम्रो आयात निकै बढी भएकाले यस खाले घाटा बढ्न गयो । सेवा क्षेत्रमा पनि हामीले कमाउने भन्दा गुमाउने नै बढी छ ।

पछिल्ला दिनमा हामीले निकै राम्रो सफलता पाएको रेमिटेन्समा हो । अहिले रेमिटेन्सको आप्रवाह निकै राम्रो छ । यसैको असर स्वरुप अहिले वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । तर यसलाई अझै सहज बनाउने सिलसिलामा हामीलाई नगद प्रवाहको पुनराबृत्ती अर्थात् रि–साइक्लिङ बजारमा हुनु जरुरी छ ।

ऋणीले लगेको ऋण केही न केही मात्रामा तिरिनु पर्छ, तवमात्रै बजारमा तरलता बढ्दै जान्छ । लगेको पैसो चाहीँ नतिर्ने हो भने बैंकमा आफैं पैसा बन्दैन । यो कुरालाई बजारका सम्बद्ध पक्षले राम्रोसँग हेक्का गरिदिनु जरुरी छ ।

हामीले भविष्यमा आउनसक्ने चूनौतिहरुलाई पनि ख्याल गर्दै योजना तर्जुमा गरिरहेका छौं । बजारलाई हामी सहज बनाउँछौं नै । तर बजारमा भएको अप्ठेरो बेलामा सुधार्नु हुँदैन भन्न थालियो भने ‘अनुशासन हिनता र वित्तीय क्षेत्रमा देखिएका विकृतिहरुलाई अप्ठेरो बेलामा सुधार्नु हुँदैन’ भन्न थालियो भने कहिल्यै सुधार हुन सक्दैन । यसले विकृतिहरु सधैं उस्तै रहन्छन् । यसले झनै ठूला समस्याहरु निम्त्याउन सक्छ ।

हिजोको विकृतिको कारणले आज केही ब्यापारी, व्यवसायी वा ऋणीलाई अप्ठेरो परेको छ भने भोलि त्यो विकृति बढ्दै जाँदा धेरै मान्छेलाई अप्ठेरो पर्छ । त्यसकारण हामीले वित्तीय क्षेत्रमा देखिएका विकृतिहरु समयमै चिर्न सफल हुनुपर्छ । देखिएका कमजोरीहरुलाई बेलैमा सुधार गर्नुपर्छ । त्यो प्रक्रियामा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले आ–आफ्नो ठाउँबाट काम गरिरहेका छन् ।

गभर्नर अधिकारीले हालैमात्र एक सार्वजनिक कार्यक्रममा दिनुभएको मन्तव्यको अंश ।


प्रतिक्रिया दिनुहोस्