तरलता घट्दै जाँदा पनि नेप्सेमा आयो उछाल, गभर्नर र अर्थमन्त्रीको तादात्म्य मिल्ने आशाले लगानीकर्तामा उत्साह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तरलता घट्दै जाँदा पनि नेप्सेमा आयो उछाल, गभर्नर र अर्थमन्त्रीको तादात्म्य मिल्ने आशाले लगानीकर्तामा उत्साह



काठमाडौं । २०७८ भदौमा ३२ सय अंक नजिकको कीर्तिमानी उचाइ छोएर ओरालो लागेको सेयर बजार त्यसयता चौंथो पटक उकालो लाग्ने कोसिस गरिरहेको छ । तर यसअघि हरेक पल्ट बढ्ने प्रयासहरु सफल भएका छैनन् । अहिले पनि नेप्से त्यो उच्च विन्दुबाट झण्डै १२ सय अंक तलै छ । तर गत साता नेप्सेमा ठूलै उछाल देखिएको छ । सरकार परिवर्तन भएको बेला अर्थ मन्त्रालय चलाउन आएका विष्णु पौडेललाई शेयर बजारले भव्य स्वागत गरेको छ ।

सरकारले वर्षको १२ प्रतिशत हाराहारीसम्म ब्याज दिन्छु भन्दा पनि बैंक तथा वित्तीय संस्थाले स्वयम् सरकारलाई चाहेजति ऋण दिन सकिरहेका छैनन् । राष्ट्र बैंकले गत विहीबारमात्रै रिपो जारी गरेर बैंकहरुलाई डेढ महिनाका लागि ५० अर्ब रुपैयाँ दिन्छु भन्यो । तर बैंक तथा वित्तीय संस्थाले ७२ अर्ब ६५ करोड मागे । ४५ दिनपछि तिर्नुपर्ने पैसा लिन बैंकहरु केन्द्रिय बैंकलाई नै साढे ७ देखि ९ प्रतिशतसम्म ब्याज तिर्न राजी भए ।

केही दिनअघि बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतसम्म झरे पनि अहिले साढे ८६ प्रतिशत हाराहारी पुगेको छ । पुस मसान्तसम्म सरकारलाई आयकरको दोस्रो किस्ता तिर्न, बैंकहरुले लिएको पुनरकर्जा फिर्ता गर्न र सरकारले उठाउने ऋण रकमसमेत गरेर करीब सवा खर्ब जति पैसा बाहिरिँदै छ । यति हुँदाहुँदै पनि अहिले नेपाली सेयर बजार उकालो लागेको छ ।

ब्याजदर घटिहाल्ने गुञ्जायस छैन र ठूलै नीतिगत परिवर्तन हुने वा कम्पनीहरुको नाफामा ब्यापक सुधार हुने आशा पनि छैन । तर गत साता नेप्से करीब १ सय ६२ अंक बढ्यो । अघिल्लो हप्ता १८ सय ६७ अंकमा रोकिएको नेप्से गत साता चार दिनमात्रै कारोबार हुँदा २ हजार २९ अंकमा बन्द भएको छ । कारोबार रकम पनि अघिल्ला दुई साताको कुल कारोबार रकमभन्दा पनि धेरै भएर १० अर्ब ८३ करोड नाघेको छ । सेयर बजारमा यो उछाल आउनुको एउटै कारण सरकार परिवर्तन हो । लगानीकर्ताले नयाँ अर्थमन्त्रीलाई बढी आशाको नजरले हेरेका छन् ।

यो आशाको कारण पनि अर्थमन्त्री पौडेलप्रतिको भरोसा होइन, राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीसँग उनको सुमधूर सम्बन्ध भएको अनुमान हो । यसअघि नै एम अधिकारीको विवादमा गभर्नरलाई एमालेको सक्रीय कार्यकर्ताका रुपमा स्थापित गर्ने कोसिस भएको थियो । एमालेसँग आस्था राख्ने भनेर गभर्नरको पहिचान बनिसकेको छ ।

एमालेबाटै सरकारमा नेतृत्व गरेर आएका पौडेलले आफ्नो कार्यकालको सफलताका लागि गभर्नरलाई प्रयोग गर्न सक्छन् भन्ने भाष्य जबरजस्ति स्थापित गर्न खोजिँदै छ, जसले पछिल्लो हप्ता सेयर बजारमा हरियाली छाउन सघाएको छ । मन्त्री पौडेलले पनि आशाको लड्डु बाँड्न छाडेका छैनन् ।

केन्द्रिय बैंकलाई अर्थमन्त्रीले आफ्नो राजनीतिक दाउ साँध्न दुरुपयोग गर्नसक्छन् भन्ने आत्मविस्वासमा लगानीकर्ताले पैसा खन्याउँदा सेयर बजारले चार दिनमै ठूलो फड्को मारेको छ । यही चार दिनमा नेप्सेको बजार पूँजीकरण २ खर्ब ३४ अर्ब ४६ करोड बढेको छ । सट्टेबजारको यो अधिमूल्यन्ले वित्तीय बजारमा निक्षेप बढाउन पनि सघाउँछ । तर विदेशी मुद्राको ढुकुटी बचाउन लामो समयदेखि युद्धरत हालतमा रहेको राष्ट्र बैंकले धक फुकाएर आफ्ना कठोर नीतिहरु उल्टाइहाल्ने संभावना कम छ ।


प्रतिक्रिया दिनुहोस्