रेमिट्यान्स : एक महिनामै १ खर्ब बढी भित्रियो, नेपालबाट ४३ लाख डलर बाहिरियो
काठमाठौं । एक महिनामै नेपालबाट ४३ लाख डलर रेमिट्यान्स बाहिरीएको छ । नेपालमा रोजगारी गर्न आएका विदेशी कामदारले गत मंसिर महिनामा सो बराबरको रेमिट्यान्स आफ्नो देशमा पठाएका हुन् ।
औपचारिक माध्यमबाट सो बराबर रेमिट्यान्स बाहिरीएको हो । नेपाली रुपैयाँमा भने मंसिरमा ५६ करोड ३० लाख रुपैयाँ बाहिरीएको नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले देखाएको छ ।
चालु आर्थिक बर्षको मंसिरसम्ममा भने कुल २ करोड १० लाख डलर विप्रेषण बाहिरीएको छ । नेपाली रुपैयाँमा भने २ अर्ब ७२ करोड ३१ लाख रेमिट्यान्स बाहिरीएको ।
नेपालमा विदेशी लगानीका कम्पनी, आयोजनाहरुमा विदेशी कर्मचारी छन् । बिभिन्न बैंक तथा वित्तिय संस्थामा समेत विदेशी कर्मचारी छन् । जलविद्युत आयोजनाहरुमा पनि चिनियाँ, भारतीय कामदारहरु आउने गर्छन् । उनीहरुले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन् । यद्यपि, नेपालका अनौपचारिक क्षेत्रमा भारतीय कामदार थुप्रै छन्, उनीहरुले अनौपचारिक रुपमा (नगद बोकेर) नै आफुले कमाएको पैसा आफ्नो देशमा लैजाने गर्छन् ।
चालु आर्थिक बर्ष २०७९/८० मा मंसिर महिनामै भने १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन मासिक रुपमा भित्रिने रेमिट्यान्समा सबै भन्दा बढी हो । मंसिर महिनासम्म भने ३ अर्ब ७० करोड ८८ लाख डलर अर्थात् ४ खर्ब ८० अर्ब ५० करोड ३२ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
चालु आर्थिक वर्ष पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ । चालु आवको मंसिर मसान्तसम्ममा रेमिमट्यान्स २३ प्रतिशतले बढेको हो ।
सो अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
चालु आवको मंसिरसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।
सो अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।













