नेपालमा शिक्षा मार्फत भित्रिने भन्दा बाहिरीने रकममा २७ अर्ब ४१ करोडको अन्तर, विदेशी विद्यार्थीले कति ल्याए ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालमा शिक्षा मार्फत भित्रिने भन्दा बाहिरीने रकममा २७ अर्ब ४१ करोडको अन्तर, विदेशी विद्यार्थीले कति ल्याए ?



काठमाडौं । नेपालमा शिक्षा मार्फत भित्रिने भन्दा बाहिरीने रकम बढी देखिएको छ । चालु आर्थिक बर्ष २०७९/८० को मंसिर महिनामा मात्रै शिक्षा मार्फत भित्रिने भन्दा बाहिरिने रकम २७ अर्ब ४१ करोड रुपैयाँले बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मंसिर महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्था बिषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

चालु आवको पाँच महिनामा नेपाल पढ्न आउने विदेशी विद्यार्थीले १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ ल्याएका छन् । सो अवधीमा विदेश पढ्न जाने नेपाली विद्यार्थीले २८ अर्ब ८० करोड ८६ लाख रुपैयाँ लगेका छन् । यसरी शिक्षा मार्फत भित्रिने भन्दा बाहिरीने रकममा २७ अर्ब ४१ करोड ७२ लाख रुपैयाँमा अन्तर रहेको हो ।

नेपालका बिभिन्न विश्व विद्यालयमा विदेशी विद्यार्थी अध्ययन गर्न आउने गर्छन् । कानुन, डाक्टर लगायत बिषय अध्ययन गर्न विदेशी विद्यार्थी नेपालमा आउने गर्छन् । नेपालका त्रिभुवन विश्व विद्यालय लगायतका युनिभर्सिटीमा विदेशी विद्यार्थी अध्ययनरत छन् ।

उनीहरुले नेपालमा आवास खर्च, कलेज शुल्क लगायतका शिर्षकमा ठुलो रकम खर्च गर्छन्, त्यसबापत विदेशी मुद्रा पनि भित्रिने गरेको छ । यदि, नेपालको शिक्षालाई अझै गुणस्तर बनाएमा ठुलो संख्यामा विदेशी विद्यार्थी आउन सक्छन्, फलस्वरुप विदेशी मुद्राको आम्दानी समेत बढ्ने विज्ञहरु बताउछन् ।

गत आव २०७८ /७९ मा शिक्षा मार्फत १ अर्ब ५१ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको छ । त्यस अवधीमा शिक्षा मार्फत भने ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरीएको छ ।

यस्तै, शिक्षा मार्फत आव २०७७/७८ मा १ अर्ब ४ करोड ५९ लाख, आव २०७६/७७ मा २ अर्ब २३ करोड ४ लाख रुपैयाँ नेपाल भित्रिएको थियो । सोही आवहरुमा भने शिक्षा मार्फत क्रमश: २४ अर्ब ९५ करोड रुपैयाँ र २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरीएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्