बढ्न थाल्यो घर जग्गा कारोबार: एक महिनामा ३३ प्रतिशतले वृद्धि, साढे ३ अर्ब बढी राजश्व संकलन
काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा देशभर घर जग्गा कारोबार वृद्धि भएको छ । गत मंसिर महिनाको तुलनामा घर जग्गा कारोबार ३३.२१ प्रतिशतले बढेको हो ।
पछिल्लो समयमा स्थानीय तहहरुले जग्गाको वर्गीकरण लगायतका काराण घर जग्गा कारोबारमा सुधार आएको हो । सरकारले गत जेठ २३ गते भू–उपयोग नियमावली–२०७९ अनुसार वर्गीकरण नभएको घर जग्गाको कारोबार गर्न नपाईने व्यवस्था जारी गरेको थियो । त्यसपछि घर जग्गा व्यवसायमा कम आउन थालेको थियो । सो अवधिमा अनिवार्य वर्गाीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण कारोबारमा सोचे जस्तो प्रगति हुन सकेको थिएन ।
तर, भुमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशित गरेको पुस महिनाको तथ्याङ्क अनुसार भने कारोबारमा वृद्धि भएको देखाएको छ । पुस महिनामा ३८ लाख ८७१ वटा घर जग्गाको लिखित पारित भएको छ । यो मंसिर महिनाको तुलनामा ३३.२१ प्रतिशतले बढी हो । गत मंसिरमा भने २९ हजार १८४ वटा घर जग्गा लिखित पारित भएको विभाले जनाएको छ ।
विभागका अनुसार पुस महिनामा ३ हजार ९३७ नामसारी, ३ हजार ८४२ संशोधन, ३१ हजार ३१० रोक्का, २२ हजार ३९० फुकुवा र १ हजार ३३१ घर जग्गा दाखिला खारेज भएको छ । गत मंसिरमा भने २ हजार ५११ नामसारी, ३ हजार ९४ संशोधन, २५ हजार ६०८ रोक्का, १८ हजार ३७३ फुकुवा र ८३७ वटा घर जग्गा दाखिला खारेज भएको विभागले जनाएको छ ।
देशभर हाल १२८ वटा मालपोत कार्यालयबाट घर जग्गा कारोबार हुँदै आएको छ । सो अवधिमा सबैभन्दा बढी घर जग्गा कारोबार इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालय मार्फत १ हजार ५४६ वटा घर जग्गा किनबेच भएको हो ।
यस्तै, दोस्रो स्थानमा रहेको नेपालगञ्ज, बाँकेबाट १ हजार ५४६ वटा, तेस्रो स्थानमा रहेको जनकपुरधाम, धनुषाबाट १ हजार २५३ वटा घर जग्गा किनबेच भएको छ । सो अवधिमा बेलवारी मालपोत कार्यालय मोरङ्गमा १ हजार १९८, धनगढीबाट १ हजार १६५, तौलिहवाबाट १ हजार १४४, भद्रपुरबाट १ हजार १२४, मकवानपुरबाट १ हजार ६८, लगनखेल ललितपुरबाट १ हजार ३२ वटा घर जग्गा किनबेच भएको हो ।
त्यसैगरि मालपोत कार्यलय चिवतनबाट ८३८ वटा, कलैयाबाट ८२७, भक्तपुरबाट ७३१, काभ्रेपलाञ्चोकबाट ७२८, कास्कीबाट ६२४, पर्साबाट ६११, कलंकी काठमाडौंबाट ७०४, सिराहबाट ६४४, जलेश्वरबाट ७५३, सर्लाहीबााट ६८१, झापाबाट ५२०, लाहान ५८० घर जग्गा कारोबार भएको छ ।
एक महिनामा ४० प्रतिशतले बढ्यो राजश्व
चालु आवको पुस महिनामा देशभरबाट ३ अर्ब ७१ करोड ५९ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत मंसिरको तुलनामा राजश्व भने ४०.२७ प्रतिशतले बढी हो । मंसिर महिनामा कुल २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
विभागका अनुसार सेवा कर २ अर्ब ६१ करोड ३४ लाख रुपैयाँ, पुँजीगत लाभ कर १ अर्ब १७ करोड २१ लाख ५७ हजार, बागमती बापत ८ करोड १८ लाख ६८ हजार, रजिस्टेशन दस्तुर १ अर्ब ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ रहेको छ। सो अवधिमा २७ करोड २७ लाख ४९ हजार रुपैयाँ छुट दिइएको विभागले जनाएको छ ।
पुसमा सबैभन्दा राजश्व लगनखेल कार्यालयबाट भएको छ । सो कार्यलय मार्फत ३३ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको हो । यस्तै, मालपोत कार्यालय भक्तपुरबाट १७ करोड ४४ लाख, डिल्लीबजार कार्यालयबाट १६ करोड १८ लाख, चाबहिल कार्यालयबाट १९ करोड ८८ लाख र कलंकी कार्यालयबाट १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।













