आज सकिँदै ‘क्यान इन्फोटेक’, अवलोकनकर्ताको बढ्दो आकर्षण
काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा माघ २४ देखि सञ्चालन भएको क्यान इन्फोटेक आइतबार अन्तिम दिन रहेको छ ।
२८औं संस्करणको ‘इन्फोडेभलर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ डिशहोम फाइबरनेटमा स्टार्टअप, नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
यस संस्करणमा नेपालमै विकास भएका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित उत्पादन र सेवालाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राखेको हो । साथै विभिन्न कलेजका विद्यार्थीले तयार पारेका परियोजनाहरूलाई पनि स्थान दिइएको छ।

प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादन सहितकोप्रविधिको प्रशंसा गरेका छन् ।
प्रदर्शनीमा ३१ ओटा स्टार्टअप छन् । यसअन्तर्गत यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स, सफ्टवेयर स्टोर, क्यूरा हेल्थ, चिम्पभाइन लगायतका स्टार्टअप टिमले तयार पारेका नवीनतम उत्पादन एवं सेवामा विद्यार्थी देखि व्यवसायी र लगानीकर्ताले चासो देखाएका छन् ।
स्टार्टअप कमिटीका संयोजक दीपेन्द्र पौडेलले क्यान इन्फोटेक स्टार्टअपका लागि एस्पोजर प्लेटफर्म बनेको बताउँदै यसबाट स्थानीय प्रतिभाको विकास हुने विश्वास व्यक्त गरेको छन्।साथै प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्ड सँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायत गरी १५०भन्दा भढी स्टल रहेको छ ।

शनिबार बिदाको दिन भएकाले ब्रान्डिङ कक्ष र डोमभित्र रहेका अधिकांश स्टल दिनभर भरिभराउ थिए।साथै क्यान इन्फोटेककै अवसर पारी कोडिङ च्यालेन्जदेखि अनलाइन गेमिङ कम्पिटिशन प्रतियोगिता सञ्चालन भएको छ । क्यान इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटी मैत्री बस रहेको छ । हालसम्म ६०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जानाकारी दिएको छ । क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रम पनि सञ्चालन भएको छ ।
अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर जारी राखेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ६० प्रतिशतसम्म छुट प्रप्त गरेका छन् । शनिबार कलेजका विद्यार्थी, युवासँगै कर्पोरेट क्षेत्रबाट उल्लेख्य मात्रामा अवलोनकर्ता आएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले
जानकारी दिएका छन् । । चिरञ्जीवीको अनुसार प्रदर्शनीस्थलबाटै कम्पनीले आफ्ना लागि डिलर तथा बिक्रेता छान्ने र बजार विस्तार गर्ने मौका पाएको बताए ।
यसैबीच प्रदर्शनीमा विशिष्ट व्यक्तिहरु पुग्ने क्रम जारी छ । शनिबार जनमत पार्टीकाअध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत, मधेश प्रदेशसभा सदस्य चन्दन सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका सचेतक ज्ञानेन्द्र शाही लगायतका विशिष्ट अतिर्थिले प्रदर्शनी अवलोकन गरेका थिए । त्यस्तै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरी, नेपालको चर्चित पब्जी गेमिङ टिम डीआरएसका सदस्यहरू पनि क्यान इन्फोटेकका लागि आएका थिए।

त्यस्तै नेपालस्थित फोर्टी वन क्लबका राष्ट्रिय अध्यक्ष मनोज दास र राष्ट्रिय महासचिव पंकज जालानको विशेष निमन्त्रणमा ओल्ड ट्याब्लर्स क्लबका जर्मन नागरिकहरूले क्यान इन्फोटेक प्रदर्शनी अवलोकन गरेका थिए ।
यसैबीच क्यान इन्फोटेकको अवसर पारी आयोजकले क्यान आईसीटी सेमिनारसमेत सञ्चालन गरेको छ । यस अन्तर्गत आइतबार ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ विषयमा दिउँसो २ देखि ४ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा इन्टरनेट क्षेत्रका सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया हुने भएको छ ।














