२५ श्रावण २०८३, सोमबार

मृगौला प्रत्यारोपणको वर्तमान अवस्था



आधुनिक जीवनशैली, व्यस्त दिन चर्या, खानपान आदिले गर्दा मानव जीवनको स्वास्थ्यमा असर परिराखेको हुन्छ । जसको फलस्वरुप नेपालमा वर्षेनी विभिन्न प्रकारका रोगीहरुको मात्रा बढ्दै गएको पाइन्छ भने मृगौलाका बिरामीहरु पनि थपिन थालेका छन् र कतिपयको मृगौलाले काम नगर्दा फेर्नु नै पर्ने वाध्यता छ । डायलायसिस गर्ने भनेको अस्थायी निराकरण मात्र हो । स्थायी उपचारको लागि दाताबाट लिएर मृगौला फेर्नुको विकल्प छैन । विद्यमान नियमअनुसार बिरामीलाई मृगौला दान गर्ने व्यक्ति आफ्नो नजिकको नातेदार हुनु पर्छ ।

“मानव अंग प्रत्यारोपण नियमावली २०७२” अनुसार नजिकको नातेदार भन्नाले बिरामीको श्रीमान्, श्रीमती, दाजु, भाइ, दिदी, बहिनी, आमा, बुबा आदि गरी ५३ थरिका नातालाई जनाउँछ । एक त मृगौला दान गर्न मिल्ने दाता पाउनै मुस्किल, पाइहालेमा नजिकको नातेदार हुनु पर्ने हुँदा यस्तो अवस्थामा बिरामी तथा निजको परिवारलाई निकै सकसपूर्ण अवस्था हुन्छ । त्यसैगरी सम्बन्धित स्थानीय निकाय वा वडाबाट नाता प्रमाणित गर्न र अन्य सरकारी तथा कागजी प्रकया पूरा गर्न लामो समय लाग्छ । अतः विद्यमान नियमावलीलाई परिमार्जन गरी नजिकको नातेदारको हद बढाई दुई पुस्तासम्म र मितेरी साइनोलाई समेत समावेश गर्न सकेमा बिरामीलाई ठूलो राहत पुग्ने थियो । विदेश गई प्रत्यारोपण गर्दा बढी रकम दिएर बिचौलिया मार्फत दाता खोज्नु पर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ दाताले कति रकम पाउने भन्ने स्पष्ट हुँदैन, बिरामीले दातालाई दिएको ७०–८०५ प्रतिशतसम्म रकम बिचौलियाको हातमा पुग्दछ । यदी स्वदेशमै मृगौला प्रत्यारोपण गर्न सकेमा दाताकै बैंक खातामा रकम जम्मा गर्न सकिन्थ्यो र बिरामी मार्फत दातालाई पुरै पैसा हात पथ्र्यो ।

नेपालमा मृगौला प्रत्यारोपणको लागि सुविधा सम्पन्न अस्पताल तथा सो कोलागि चाहिने अत्याधुनिक उपकरण तथा सरसामानहरुको कमी छ । फलस्वरुप धेरै बिरामी मृगौला प्रत्यारोपण गर्न वाह्य मुलुकमा जान बाध्य छन् । यसरी वाह्य मुलुकमा जाँदा यातायात खर्च, अस्पतालको खर्च, डाक्टरको पारिश्रमिक, शल्यव्रिmया अघि र पछिको लामो बसाई खर्च, सहयोगी व्यक्तिको खर्च, औषधी आदि गर्दा ठूलो धनराशीको आवश्यकता पर्दछ । एक जना बिरामी बराबर करिब ४०–५० लाख रुपैयाँ लाग्ने हुँदा उक्त रकम देशबाट बाहिरिरहेको छ । यो रकम हुनेले त जोहो गर्न सक्लान तर सर्वसाधारणको लागि यो ठूलो धनराशी हो ।

मृगौला रोगीहरुले व्यहोर्नु परेका समस्या अनगिन्ती छन् सरकारले उनीहरुको पीडामा मल्हम पट्टी लगाउन ढिला नगरी देशका विभिन्न स्थानमा धेरै संख्यामा अत्याधुनिक उपकरण सहितको सुविधा सम्पन्न अस्पतालको निर्माण गरी मानव अंग प्रत्यारोपण सम्बन्धी वर्तमान नीति नियमलाई सरलिकरण गर्न र मानव अंग प्रत्यारोपण सबै जनताबीच सर्व सुलभ बनाउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सरोकार निकायले प्राथमिकतामा राखी विशेष ध्यान दिन जरुरी छ ।

८ श्री पि.बि. श्रेष्ठ पञ्चकन्या ग्रुपका अध्यक्ष हुनु हुन्छ ।