बढ्यो घरजग्गा कारोबारः माघमा ४१ हजार घरजग्गा किनबेच, उठ्यो ३ अर्ब ७५ करोड राजश्व
काठमाडौं । देशभर घर जग्गा कारोबार बढ्न थालेको छ । पछिल्लो समय नेपालमा घर जग्गा कारोबारमा सुधार आउन थालेको पाइएको छ ।
भुमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशित गरेको तथ्याङ्कले पनि यस्तो देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनामा ४१ हजार ८६ वटा घर जग्गा किनबेच भएको छ । यो चालु आवको ७ महिनासम्मको तुलनामा नै सबैभन्दा उच्च हो ।
यो गत पुस महिनाको तुलनामा भने ५.७० प्रतिशतले बढी हो । गत पुस महिनामा कुल ३८ हजार ८७१ वटा घर जग्गाको कारोबार भएको थियो ।
माघ महिनामा ३ हजार ६९८ वटा घर जग्गा नामसारी, ४ हजार ८९ वटा संशोधन, ३० हजार ९५६ वटा रोक्का र २३ हजार ७६० वटा घर जग्गा फुकुवा भएको विभागले जनाएको छ ।
पछिल्लो समय स्थानीय निकायहरु कित्ताकाटको काम अघि बढाएका छन् । जसले गर्दा नै घर जग्गा कारोबारमा सधुार आएको हो । स्थानीय तहहरुले जग्गाको वर्गीकरण लगायतका कारण घर जग्गा कारोबारमा सुधार आएको बताइएको छ ।
सरकारले गत जेठ २३ गते भू–उपयोग नियमावली–२०७९ अनुसार वर्गीकरण नभएको घर जग्गाको कारोबार गर्न नपाईने व्यवस्था जारी गरेको थियो । त्यसपछि घर जग्गा व्यवसायमा कम आउन थालेको थियो । सो अवधिमा अनिवार्य वर्गीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण कारोबारमा सोचे जस्तो प्रगति हुन सकेको थिएन । तर, विभागको मासिक तथ्याङ्क हेर्दा क्रमिक सुधार आएको पाइन्छ ।
विभागका अनुसार गत मंसिर महिनामा २९ हजार १८४ वटा घर जग्गा कारोबार भएको थियो । यस्तै, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९ वटा घर जग्गाको कारोबार भएको थियो । तर, भदौमा भने ३४ हजार ७२० वटा घर जग्गा किनबेच भएको देखिन्छ । चालु आवको पहिलो महिनामा अर्थात साउनमा ३३ हजार ८३४ वटा घर जग्गा कारोबार भएको विभागले जनाएको छ ।
नेपालगञ्ज मालपोत कार्यालयबाट धेरै कारोबार, उपत्यकामा मात्रै ४ हजार बढी किनबेच
चालु आवको माघ महिनामा सबैभन्दा बढी मालपोत कार्यालय नेपालगञ्जबाट भएको छ । सो कार्यालयबाट मार्फत माघमा १ हजार ६८५ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । दोस्रो स्थानमा रहेको जनकपुरधाम धनुषा कार्यालयबाट १ हजार ५६५ वटा घर जग्गा कारोबार भएको छ ।
यस्तै, इनरुवा सुनसरीबाट १ हजार ४९९ वटा, तौलिहवा कपिलवस्तुबाट १ हजार १५४, राजविराज सप्तरीबाट १ हजार १३२ वटा, बेलबारी मोरङबाट १ हजार ११० र विराटनगर मोरङबाट १ हजार १०५ वटा घरजग्गा किनबेच भएको छ ।
उपत्यकामा चार हजार बढी घर जग्गा किनबेच
माघ महिनामा उपत्यकामा ४ हजार १९५ वटा घरजग्गा किनबेच भएको छ । विभागका अनुसार उपत्यकामा रहेको ९ वटा मालपोत कार्यालयबाट ४ हजार बढी घरजग्गा किनबेच भएको हो ।
उपत्यकामा सबैभन्दा धेरै भक्तपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । सो कार्यालयबाट माघ महिनामा १ हजार घरजग्गा किनबेच भएको छ । दोस्रो स्थानमा रहेको लगनखेलबाट ९८२ वटा, कलंकीबाट ७२०, चावहिलबाट ४४४ वटा, साँखुबाट ४१८ वटा घर जग्गा कारोबार भएको छ ।
यस्तै, मनमैजु कार्यालयबाट २७५, डिल्लीबजारबाट १८९, टोखाबाट १४४ र गोटीखेलबाट २३ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
घर जग्गा कारोबार सुधारपछि राजश्व संकलनमा पनि बढोत्तरी
देशभर घरजग्गा कारोबार बढेसंगै यसमा प्राप्त हुने राजश्व पनि वृद्धि भएको छ । चालु आवको माघ महिनामा देशभरबाट ३ अर्ब ७५ करोड ८ लाख १७ हजार राजश्व संकलन भएको छ । तर, गत पुस महिनामा भने ३ अर्ब ७१ करोड ५९ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस्तै, गत मंसिरमा महिनामा देशभरको मालपोत कार्यालयबाट २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । माघ महिनामा करिब ४ अर्ब राजस्व संकलनमध्ये देशभरका मालपोत कार्यालयहरुबाट सेवा करबापत २२ करोड ७४ लाख रुपैयाँ, बागमतिबापत १४ करोड ४० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९६ करोड ३० लाख रुपैयाँ, पूँजीगत लाभकरबापत १ अर्ब ७ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले सो अवधिमा ३० करोड ७३ लाख रुपैयाँ राजस्व छुट दिएको विभागले जनाएको छ ।
माघमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले ३२ करोड ५१ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ । दोस्रो स्थानमा रहेको भक्तपुर मालपोत कार्यालयबाट २३ करोड ३२ लाख रुपैयाँ, डिल्लीबजारबाट २१ करोड ७० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै, कलंकीबाट २० करोड १३ लाख रुपैयाँ, चावहिलबाट १९ करोड २० लाख, कास्कीबाट १२ करोड ९० लाख र चितवन मालपोतबाट १० करोड ५६ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
जग्गा कित्ताकाटको अवस्था कस्तो ?
चालु आवको माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट भएको छ ।
गत पुसमा देशभर २१ हजार १९२ जग्गा वर्गीकरण भई ४९ हजार ४७४ कित्ता कायम भएको थियो । मंसिर महिनामा भने देशभर १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता कायम भएको थियो ।
चालु आवको पहिलो महिना अर्थात साउनमा भने ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । यस्तै, भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता र कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको थिया ।













