आर्थिक मन्दीको असर: ९ अर्बले घट्यो वैदेशिक लगानी, किन बढ्दैछ फिर्ता हुने लगानी ?
काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० मा को पहिलो ६ महिनामा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमा उच्च मात्रामा घटेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्तले यस्तो देखाएको हो । तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा मात्रै प्रत्यक्ष वैदेशिक लगानी ७८ प्रतिशतले घटेको छ ।
गत आवको मसान्तसम्म ११ अर्ब ६० करोड ५१ लाख रुपैयाँ वैदेशिक लगानी नेपाल आएको थियो । चालु आवको समिक्षा अवधिमा भने २ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९ अर्ब ४ करोड ८४ लाख रुपैयाँले कम हो ।
यस्तै, गत आवमा १९ अर्ब २१ करोड ९० लाख रुपैयाँ र अघिल्लो आवमा १९ अर्ब ९० करोड ९४ करोड रुपैयाँ बैदेशिक लगानी नेपाल आएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
५९३ प्रतिशतले बढ्यो फिर्ता हुने विदेशी लगानी
राष्ट्रका अनुसार चालु आवमा उल्टै फिर्ता हुने विदेशी लगानी बढेको देखिएको छ। समिक्षा अवधिमा फिर्ता हुने लगानी रकम ५९३ प्रतिशतले बढेको छ ।
गत आर्थिकको पुस मसान्तसम्म २६ करोड ८ लाख रुपैयाँ बराबरको लगानी फिर्ता भएको थियो । तर, चालु आवको समिक्षा अवधीमा १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ लगानी फिर्ता भएको छ । जुन गत आर्थिक बर्षभर फिर्ता भएको वैदेशिक लगानी रकम भन्दा पनि बढी हो ।
गत आर्थिक बर्षभर ६५ करोड ८७ लाख रुपैयाँ र अघिल्लो आव २०७७/७८ मा ३९ करोड ६७ लाख रुपैयाँ लगनी फिर्ता भएको थियो । अहिले त्यो भन्दा पनि बढी लगानी रकम फिर्ता भएको तथ्याङ्कमा उल्लेख छ।
विशेषगरि विश्व आर्थिक मन्दीका कारण विदेशी लगानी घटेको बताइएको छ । कोरोना महामारी, रुस युक्रेन युद्द, विश्वव्यापी महंगी लगायतका कारण पछिल्लो समय विश्वव्यापी अर्थतन्त्र नै समस्यामा परेको छ । सोही कारण नेपालमा बैदेशिक लगानी आउन क्रम घटेको विज्ञहरु बताउछन् ।
महंगी, सप्लाई सिस्टम बिग्रने लगायतका कारण लगानीको प्रतिफल कम आउने सम्भावना छ । यी यस्ता कारण लगानीकर्ताहरु लगानी गर्न डराएका छन् । यस्तै, यो आर्थिक मन्दीमा ठुला देशहरुले विदेशमा भन्दा पनि आफ्नै देशमा लगानी बढाउने नीति ल्याएका छन् । त्यसले गर्दा वैदेशिक लगानी घट्ने र फिर्ता हुने लगानी बढ्ने समस्या आएको जानकारहरु बताउछन् ।













