प्राधिकरणले शाखाहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्थाका लागि पहल गरिरहेको छः अध्यक्ष सिलवाल
प्राधिकरणले शाखाहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्थाका लागि पहल गरिरहेको छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन् ।
नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रुपन्देही जिल्लाको बुटवलमा उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले यस्तो बताएका हुन ।
उनले न्यूनतम कागजातको व्यवस्था गरी छिटोछरितोरुपमा बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताए ,। अध्यक्ष सिलवालले दुर्घटना बीमाको बीमाङ्क बृद्धिका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
अध्यक्ष सिलवालले बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारसँगको बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका प्रदेश कार्यालयहरुबाट बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापनका साथै बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण लगायतका कार्यहरु हुँदै आएको जानकारी दिए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गर्नका लागि बीमा कम्पनीहरु समेत अग्रसर हुनुपर्ने उनको भनाइ रहेको थियो । काठको बीमाका सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने, दुर्घटना बीमाको बीमाशुल्क बढाएर मानवीय क्षतिको विद्यमान बीमाङ्क बृद्धि गर्नुपर्ने, बीमा दाबी भए बमोजिम दाबी भुक्तानी हुनुपर्ने, बीमा सचेतना एवम् बीमा शिक्षालाई सामूहिकरुपमा अगाडि बढाउनुपर्ने, बीमा सर्भेयरबाट छिटो प्रतिवेदन बुझाउने अनिवार्य व्यवस्था गरी छिटै दाबी फछ्र्यौट गरिनुपन निर्देशक पौडेलले बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वल प्रसाद कसजु, शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे, नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, यातायात व्यवसायी संघका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।













