विश्वका दुई दर्जन देशले नेपालसंग किन्छन् कुकुर र बिरालोले खाने दाना, ८७३ मेट्रिक टन निर्यात
काठमाडौं । कुकुरको दाना निर्यात गरेर नेपालले ७ महिनामा डेढ अर्ब बढी रकम भित्र्याएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा नेपालबाट १ अर्ब ६५ करोड ७५ लाख ४७ हजार रुपैयाँ बराबरको कुकुर तथा बिरालोको दाना निर्यात भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । माघ मसान्तसम्ममा नेपालबाट ८७३ मेट्रिक टन कुकुर तथा बिरालोको खाना निर्यात भएको छ । यो गत वर्षको माघ मसान्तसम्मको तुलनामा भने १६.३१ प्रतिशतले बढेको हो । गत वर्षको समिक्षा अवधिमा नेपालबाट १ अर्ब ४२ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबरको ८८० मेट्रिक टन बढी खाना निर्यात भएको थियो ।
नेपालबाट विश्वका दुई दर्जन देशहरुमा कुकर तथा बिरालोका लागि खाना निर्यात हुने गरेको छ । चालु आवको ७ महिनामा सबैभन्दा धेरै खाना अमेरिका निर्यात भएको छ । सो देशमा १ अर्ब ४१ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको कुकुर तथा बिरालोको खाना नेपालबाट निर्यात भएको विभागले जनाएको छ । अमेरिकामा ७१२ मेट्रिक टन खाना पुगेको छ ।
विभागका अनुसार क्यानडामा १७ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको ८५ हजार १२४ केजी कुकुर तथा बिरालोको खाना नेपालबाट निर्यात भएको छ ।
सो अवधिमा जापानामा १ करोड ८१ लाख, बेलायतमा १ करोड ७५ लाख, हङकङमा ६३ लाख ९१ हजार, नेदरल्याण्डमा ५८ लाख, सिंगापुरमा ५५ लाख १० हजार, कोरियामा ४९ लाख ७ हजार, ताइवानमा ३६ लाख २१ हजार, ग्रीसमा ३४ लाख ४० हजार र यूएई २१ लाख ५१ हजार र मलेसियामा १८ लाख २५ हजार रुपैयाँ बराबरको कुकुर तथा बिरालोको खाना नेपालबाट निर्यात भएको छ ।
त्यसैगरि सो अवधिमा थाइल्याण्डमा ७ लाख ८५ हजार, स्लोभाकियामा ६ लाख ७९ हजार, इटलीमा २ लाख ७९ हजार, पोल्याण्डमा १ लाख ४८ हजार, पोर्चुगलमा ८५ हजार, जर्मनीमा ७३ हजार, फिनल्याण्डमा ६५ हजार, चीनमा ३८ हजार रुपैयाँ बराबरको कुकुर तथा बिरालोको खाना नेपालबाट निर्यात भएको छ ।













