कृषि विकास बैंकले लाभांश प्रस्ताव पारित गर्नका लागि डाक्यो साधारण सभा
काठमाडौं । कृषि विकास बैंकले १६औं साधारण सभा चैत १४ गते बोलाएको छ । फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले सभा केन्द्रीय तालिम प्रतिष्ठान बोड , भक्तपुरमा बिहान ११ बजे बस्ने आव्हान गरेको छ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यता, अग्राधिकार सेयरधनीलाई भने ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले फागुन ३० गते बुक क्लोज गर्ने भएको छ । साथै,फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













