झण्डै १८ लाख डिम्याट खाता रित्तै, लगानीकर्ताले बार्गेनिङ गर्ने हतियार बनाएपछि निष्कृय खाता खारेज गरिँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

झण्डै १८ लाख डिम्याट खाता रित्तै, लगानीकर्ताले बार्गेनिङ गर्ने हतियार बनाएपछि निष्कृय खाता खारेज गरिँदै



३८ लाख डिम्याट खातामा छन् झण्डै १० अर्ब कित्ता सेयर


काठमाडौं । बैंकमा पैसा राख्न बैंक खाता खोलेजस्तै आफ्नो स्वामित्वको सेयर राख्न डिम्याट खाता खोल्नुपर्छ । अहिलेसम्म नेपालमा ५५ लाख ८० हजार २ सय ७२ वटा डिम्याट खाता खोलिएको सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) लिमिटेडले बताएको छ । डिम्याट खाता सञ्चालन गर्ने यो कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भगिनी संस्था हो । तर यसमध्ये १७ लाख ६३ हजार १ सय १३ वटा अर्थात् ३० प्रतिशतभन्दा धेरै डिम्याट खाता निष्क्रिय भएको सीडीएससीले जनाएको छ ।

सेयर बजारमा १०–१५ जना सेयर लगानीकर्ता मिलेर क्लब खोल्ने र लगानीकर्ताको छाता संस्था भन्ने चलन पछिल्लो समय ब्यापक मौलाएको छ । यस्ता संस्थाका प्रतिनिधीले सेयर बजारलाई ‘५५ लाख लगानीकर्ताको बजार’ भनेर भ्रम छरिरहेका छन् । गत मंसिरमा भएको प्रदेश तथा संघीय तहको निर्वाचनका समयमा पनि यो वाक्य निकै चर्चामा रह्यो । कतिपय स्थानमा त माओबादी लगायत परम्परागत दललाई ‘सेयर बजार विरोधी’ भनेर चित्रित गर्ने प्रयास भयो । तर वास्तविकतामा त्यति धेरै लगानीकर्ता नरहेको तथ्य सीडीएससीले उजागर गरेको छ ।

निष्क्रिय खाताको संख्या बढ्दै जाँदा तथ्यांक गलत हुने र यसले बजारमा पनि गलत सन्देश जाने भन्दै सीडीएससीले सेयर नभएका खाताहरु खारेज गर्ने तयारी थालेको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने पनि लगानीकर्ताको ठूलो संख्या देखाएर राज्य र नियामकसँग सौदाबाजी गर्ने प्रबृत्ती बढेका कारण निष्कृय खाता बन्द गर्न खोजिएको बताए ।

यसका लागि कति समयदेखि खाताहरु निष्कृय छन् भन्ने विवरण तयार पार्न थालिएको सीडीएससीले जनाएको छ । बैंक खाताहरुमा निरन्तर ६ महिनासम्म एउटा पनि कारोबार भएन भने पैसा भए पनि खाता निष्कृय हुन्छ । तर सजिलै खाता बन्द हुँदैन । सीडीएससीले पनि कति समय निष्कृय भएका खाता बन्द गर्ने भन्ने टुंलो लगाइसकेको छैन ।

त्यसो त, डिम्याट खाता बन्द गर्ने नीतिगत व्यवस्था अहिलेको कानूनमा छैन । यसका लागि कति खाताहरु बन्दगर्न योग्य छन् भनेर तथ्यांक तयार पार्ने र त्यसकै आधारमा नीतिगत व्यवस्था गर्न नियामक धितोपत्र बोर्डलाई आग्रह गर्ने सीडीएससीका अधिकारीहरुले बताएका छन् ।

नेपालमा २०७२ सालदेखि सेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य गरिएको थियो । भूकम्पका कारण कतिपय कागजी प्रमाणहरु नष्ट हुने जोखिम बढेपछि डिम्याट अनिवार्य गर्न ठूलो दबाब परेको थियो । कुनै पनि कम्पनीले पहिलोपटक जारी गरेको सेयर (आईपीओ)मा आवेदन भर्न पनि डिम्याट खाता खोल्नै पर्ने बाध्यता छ ।

त्यस कारण विगतमा सेयर बजार ब्यापक बढोत्तरी भएका बेला कयौं लगानीकर्ताले भएभरका आफन्त, नातागोता र कतिपय अवस्थामा चिनजानका बूढापाका र बालबच्चासम्मको नाममा डिम्याट खाता खोलिदिएका थिए । यसरी टाठाबाठा लगानीकर्ताले आफन्तको नाममा सेयर भर्न खोलिएका खाताहरु अहिले बजार ओरालो लागेसँगै निष्कृय बन्न थालेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने कतिपय सर्वसाधारण र विदेश जानेहरुले पनि खातामा सेयर राखेका छैनन् ।

जलविद्युत कम्पनीहरुमा लगानी गर्न स्थानीय बासिन्दाले पनि डिम्याट खाता खोल्नुपर्ने बाध्यता छ । यस्ता खाताबाट एक पटक सेयर भरेपछि कतिपय खातावालाले त्यो सेयर बेचेर फेरी किन्ने वा आईपीओ भर्ने गर्दैनन् । यस्ता खाता पनि निष्कृय रहने गरेको छ । आइपीओमा ओवेदन दिन मेरो सेयरमा पनि खाता चाहिन्छ । तर हालसम्म झण्डै ५६ लाख डिम्याट खातावालामध्ये ४६ लाख ६० हजार २ सय ४४ जनालेमात्रै मेरो सेयरमा खाता सञ्चालन गरेका छन् । यसको मतलव ९ लाख २ हजारभन्दा धेरै डिम्याट खातावालाले अझै पनि मेरो सेयरको प्रयोग गरेका छैनन् ।

सीडीएससीमा हालसम्म २३४ कम्पनीका ९ अर्ब ७० करोड ६१ लाख ७७ हजार ५ सय ६१ कित्ता सेयर अभौतिक रुपमा सूचिकृत छन् । यसलाई कुल डिम्याट खाताले भाग गर्ने हो भने प्रतिव्यक्ति सेयर संख्या १७ सय ४० कित्ताजति पर्न आउँछ । तर अहिले खातामा सेयर भएका ३८ लाख १७ हजार १ सय ५९ डिम्याट खाताको हिसाब गर्ने हो भने प्रतिव्यक्ति २५ सय ४३ कित्ता हाराहारी सेयर हुनुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्