विदेशी मुद्राको संचितिमा सुधार: ७ महिनामा पौने १४ खर्ब पुग्यो, कति धान्न सक्छ आयात ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विदेशी मुद्राको संचितिमा सुधार: ७ महिनामा पौने १४ खर्ब पुग्यो, कति धान्न सक्छ आयात ?



काठमाडौं । ७ महिनामा कुल विदेशी विनिमय संचिति वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा विदेशी विनिमय संचिति १३.८ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा कुल विदेशी विनिमय १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भएको छ । योसंगै चालु आवको माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । तर, चालु आवको माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ७ महिनामा १६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब २८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत, असार मसान्तमा भने १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तमा २.६ प्रतिशतले कमी देखिएको छ । सो अवधिमा यस्तो संचिति १ खर्ब ५५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा यस्तो संचिति १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको ७ महिनामा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चाुल आवको माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्